चितवनः डिभिजन वन कार्यालय चितवनले पुराना काठ व्यवस्थापनको काम सुरु गरेको छ । पाँच वर्ष पुराना काठ व्यवस्थापनको काम सुरु गरिएको हो ।
कार्यालय परिसरमा रहेका र राष्ट्रिय वन क्षेत्रमा रहेका काठहरु व्यवस्थापनको काम सुरु गरिएको कार्यालयका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वर्ष पुराना ५ हजार २ सय क्यूफिट काठ व्यवस्थापनको काम सुरु गरिएको हो । काठ राम्रो नभएपछि तोकिएको मूल्यमा बिक्रि हुन नसकेर थन्किएका काठ व्यवस्थापन गर्न लागिएको हो ।
वन ऐन तेस्रो संसोधन २०७९ ले सालका काठ ५ वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष पुराना काठहरु व्यवस्थापनको काम सुरु गरेको हो । नियमावली संसोधन हुनु अघि सात वर्ष पुराना काठ मात्रै व्यवस्थापन गर्न पाउने व्यवस्था थियो । जसका कारण धेरै काठ कुहिने गरेका थिए ।
उहाँले भन्नुभयो “सतनचुली सामुदायीक वनमा रहेका र चुम्लिङ्गटारमा रहेका त्यस्ता काठहरु व्यवस्थापनका लागि काम भईरहेको छ ।” कतिपय काठलाई तीन पटक सूचना निकाल्दा समेत नविके पछि पुनः मूल्याङ्कन गरी चौथोपटक सूचना प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो । सतनचुली सामुदायीक वनमा २ हजार २ सय क्यूफिट काठ रहेको छ भने कार्यालय परिसर र चुम्लिङ्गटारमा समेत यस्ता काठहरु रहेका छन् । चुम्लिङ्गटारमा रहेका नरम प्रजातीका काठहरु हुन ।
प्राबिधिक टोलीले काठको मूल्य समायोजन गरि प्रदेश सचिबको अध्यक्षतामा रहेको पुनः मूल्याङ्कन समितिले मूल्य निर्धारण गरेर सूचना जारी गर्ने गरिन्छ । मूल्यका कारण बिक्रि नभएका काठलाई पुनः मूल्याङ्कन गरेर व्यवस्थापन गर्न लागिएको हो । उहाँका अनुसार पुराना काठमा प्वाल पर्ने, किरा लाग्ने हुँदा काठको गुणस्तर घट्ने भएकाले सोही अनुसार मूल्याङ्कन गरिने गरिन्छ । लामो समय देखि रहेका काठहरुलाई लिलामी गरि व्यवस्थापनको काममा लागिएको हो ।
अहिले जिल्ला दररेट अनुसार ए ग्रेडको काठको राजश्व रु १ हजार देखि १ हजार २५० सम्म रहेको छ । पुराना काठ व्यवस्थापन गर्दा पुरा राजश्व नआए पनि थन्कियर बसेका काठको पनि केही राजश्व आउने उहाँले बताउनुभयो ।






