चितवनः नेपालमा मह उत्पादनमा कमी आएको छ । बि. सं. २०८० को तुलनामा वि.सं.२०८१ मा १ हजार ७० टनले मह उत्पादनमा कमी आएको हो । अघिल्लो वर्ष ४ हजार ९४५ टन मह उत्पादन भएकोमा गत वर्ष सो उत्पादन घटेर ३ हजार ८७५ टनमा झरेको छ । नेपाल मौरीपालक महासंघका अध्यक्ष सुबाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको उत्पादनको तुलनामा गत वर्ष मह उत्पादन घटेको हो । अघिल्लो वर्षको मह बिक्रि नहुनु, चरन क्षेत्रको बिबाद, बिषादीको अनियन्त्रीत प्रयोग लगाएतका कुराले गर्दा गत वर्ष मह उत्पादनमा कमी आएको हो । मौरी जन्य उपकरणहरुको मूल्य बृद्धि, महंगो ढुवानी, नक्कली मह र मिसावट युक्त महको बिगबिगी लगाएतका कारण यस वर्ष मह उत्पादनमा कमी आएको उहाँले बताउनुभयो ।

लगानीको अभाव, बजारको शुनिश्चितता नहुनुले यस पेशाबाट किसानहरु पलायन हुने खतरा बढेको घिमिरेले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा मौरीपालक किसानको संख्या बढेपनि मह उत्पादनमा भने कमी आएको हो । अघिल्लो वर्ष ८ हजार १ सय किसानले मौरी पालन गरेकोमा गत वर्ष यो संख्या बढेर ८ हजार ३९८ जना किसानले मौरी पालन गरेका छन् । जस मध्ये व्यवसायीक मौरीपालन गर्ने किसानको संख्यामा कमी आएको छ । व्यावसायीक मौरी पालन गर्ने किसान अघिल्लो वर्ष १ हजार ९६५ जना रहेकोमा गत वर्ष घटेर १ हजार ५६८ जनामा झरेको उहाँले बताउनु भयो । उनीहरुले मेलीफेरा मौरी पाल्दै आएका छन् । घरपालुवा सेरेना मौरी पाल्ने किसानको संख्या भने वढेको छ । अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान संख्या ६ हजार १३५ रहेकोमा गत वर्ष यो संख्या बढेर ६ हजार ८३० पुगेको उहाँले बताउनुभयो ।

उनीहरुले वि. सं. २०८१ मा ९१ हजार ४३५ मेलिफेरा र १ लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए । बि.सं. २०८० मा ३ हजार १४३ टन मह स्टक रहेकोमा २०८१ मा १९७ टन मह स्टक रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !