चितवन, ७ फागुन
प्रजातन्त्र दिवसको अवसर तथा सेनानी स्व. तिलकप्रसाद सापकोटाको स्मृतिमा आज देवघाटमा रहेको श्रीरामजानकी आश्रमका बालिकाहरुलाई भोजन खुवाइएको छ । तिलक सापकोटा प्रतिष्ठान नेपाल गैंडाकोट –८ नवलपरासीको आयोजनामा आश्रमका बालिकाहरुलाई मिष्ठान्न भोजन खुवाइएको हो ।
सो अवसरमा स्व. तिलकप्रसाद सापकोटाको पत्नी दुर्गादेवी सापकोटा, छोरा विश्व सापकोटा, बिजय सामुदायिक एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत बेलबहादुर दराई र कमल कडेँललगायतको सहभागिता रहेको थियो ।
सादगी र सरल स्वभावका स्व सापकोटाले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक संगठन निर्माणमा महत्वपूर्ण भुमिका खेल्नुभएको थियो । आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारका एक अभियन्ताका रुपमा परिचित स्व सापकोटाले सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !