नारायणगढ ९चितवन०, २४ भदौ स् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सधैँ गुणस्तरीय मात्र हुने बताउनुभएको छ ।
आज भरतपुर अस्पतालको अनुगमन तथा अस्पतालमा हालै सञ्चालनमा आएको ‘एमआरआई’ सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले गुणस्तरहीन भन्ने शब्द स्वास्थ्यमा नहुने बताउनुभएको हो ।
उहाँले सार्वजनिक स्वास्थ्य संस्थाहरु व्यवस्थित छैनन्, यहाँको उपचार पद्घति सन्तोषजनक हुँदैन भन्ने आम बुझाइ रहेको भन्दै भन्नुभयो, “गुणस्तरीय शब्द प्रयोग नगरौँ जस्तो लाग्छ किनभने स्वास्थ्य सेवा कहिल्यै गुणस्तरहीन हुनै सक्दैन । स्वास्थ्य सेवा गुणस्तरीय मात्र हुन्छ ।” उहाँले सरकारी स्वास्थ्य संस्थाले गुणस्तरको पक्षबाट विश्वास आर्जन गर्न नसकेको उल्लेख गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा भएका राम्रा कामबारे आम मानिसलाई जानकारी गराउनुपर्ने भनाइ राख्नुभयो ।
पौडेलले भन्नुभयो, “सरकारी भनेपछि राम्रो हुँदैन, व्यवस्थित हुँदैन, सफा हुँदैन, यहाँ काम गर्नेहरुले इमान्दार पूर्वक गर्दैनन् । यस्तो ढङ्गबाट बुझिन्छ ।” उहाँले भरतपुर अस्पताललाई प्रतिष्ठान बनाउन आफूले कोसिस गरेको तर विविध कारणले हुन नसकेको जानकारी दिनुभयो । उहाँले छुट्टै प्रतिष्ठान बनाएर यहाँ एमबिबिएस पढाइ सञ्चालन गर्न सकिने बताउनुभयो । आगामी वर्ष प्रतिष्ठान बनाउन पहल गर्ने मन्त्री पौडेलले प्रतिबद्घता व्यक्त गर्नुभयो ।
भरतपुर अस्पतालमा बिरामीको चाप बढी भएकाले अस्पताललाई थप व्यवस्थित बनाउनु पर्ने उहाँको धारणा छ । “यस अस्पतालमा बिरामीको आकर्षण बढी रहेको छ । यो भीड होइन, यहाँहरुप्रतिको विश्वासले नागरिक उपचार गर्न यहाँ आएका हुन् । त्यसैले यसलाई व्यवस्थित गरेर लैजानु पर्छ”, उहाँले भन्नुभयो ।
उहाँले अस्पतालमा बिरामीको चाप बढ्नुलाई सकारात्मक रुपमा लिएर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । आफूले अपेक्षाभन्दा राम्रो ढङ्गबाट अस्पताल सञ्चालन भएको पाएकामा अस्पताललमा कार्यरत सबैप्रति मन्त्री पौडेलले आभार प्रकट गर्नुभयो ।
(((





