चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब डा. रोशन पोख्रेलले सरकारी अस्पतालले दिने सेवा सुबिधा प्रभावकारी हुनुपर्ने बताउनु भएको छ । भरतपुर अस्पतालको ६७ औं बार्षिकोत्सब समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले धेरै अस्पताल खोल्ने भन्दा पनि भएका अस्पतालबाट प्रभावकारी सेवा दिने तर्फ केन्द्रित हुनु पर्ने बताउनुभयो ।
सरकारी अस्पतालमा सेवा बृद्धि गर्न आबश्यक कर्मचारी अस्पतालले राख्न पाउने गरी मन्त्रालयले व्यवस्थापन गर्न लागेको उहाँले जानकारी दिनुभयो । सरकारी अस्पताललाई जनताले अहिले गरेको बिश्वासलाई कायम राख्दै सेवा बढाउन मन्त्रालय तयार रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “अहिले बिरामी धेरै आए भनेर डराउने होईने गुणस्तरीय सेवा कसरी दिने भन्ने बिषय महत्वपूर्ण हो ।”
भरतपुर अस्पताललाई सरकारले ५ सय शैय्याको अस्पताल सञ्चालनका लागि अनुमति दिईसकेको उहाँको भनाई थियो । उपत्यका बाहिर महत्वपूर्ण अस्पतालको रुपमा रहेको यस अस्पताललाई आबश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । चिकित्सक कर्मचारीलाई सरकारले तोकेको समय भन्दा पछि अन्यत्र काम गर्न पाईने भए पनि सरकारी अस्पतालमा समय कम दिएर बाहिर जान नपाईने उहाँको भनाई थियो ।
कार्यक्रममा बागमति प्रदेश सरकारका स्वास्थ्य सचिब बद्री वहादुर खड्काले सरकारी अस्पताल गरिव निमुखाको अस्पतालको रुपमा बिकास गर्नु पर्ने बताउनुभयो । बागमति प्रदेशको रिफरल अस्पतालको रुपमा रहेको यस अस्पतालको बिकासमा प्रदेश सरकार रहेको भन्दै उहाँले यस अस्पतालालई शिक्षण अस्पतालको रुपमा स्तरोन्नती गर्न सकारात्मक रहेको बताउनुभयो । अहिले वि. सं. २०५१ सालको ओएनएम सर्भे अनुसार अस्पतालहरुमा कर्मचारी कम भएकाले सेवा प्रभावकारी वनाउन नसकीएको जानकारी दिनुभयो ।
अस्पताल बिकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, अस्पताल बिकास समितिका पूर्ब अध्यक्ष डा. भोजराज अधिकारी , अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेल, सरकारी चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. मणि प्रसाद गौतम लगाएले बोल्नु भएको थियो । सो अबसरमा अस्पताललाई उत्कृष्ण योगदान पु¥याउनुहुने बिभिन्न व्यक्ति र कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !