चितवनः नारायणगढ बजार नजिकै नाराणी नदी किनारमा आरती स्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजना पर्ने गरी आरती स्थल निर्माण गर्न लागिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजनाले सो स्थल निर्माणका लागि ठेक्का सम्झौता गरीसकेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार नदी किनारमा साँझमा आरती गर्नका लागि सुन्दर देखिने गरी आरती स्थल निर्माण गर्न लागिएको हो । नदी किनारमा हाल वगरमा उभिएर नियमित आरती गरिदैं आइएको छ । उहाँले भन्नुभयो “यो स्थल निर्माण संगै आरती गर्नेहरुका लागि सहज र सुन्दर हुने छ ।” आरती स्थल २८ मिटर लम्बाई र ५ मिटर चौडाई रहेको हुनेछ । उहाँका अनुसार जमिनको सतहबाट केही मिटर अग्लो वनाईने आरती स्थलमा ढुङ्गाले छापिने छ । आरती स्थलको बाहिरी भागमा मोज्याक टायल लगाईने छ ।
सबै क्षेत्रलाई उज्यालो दिने गरी आकर्षक ४५ वटा वत्ति जडान गरीने दाहालले जानकारी दिनुभयो । आरती स्थलको पूर्ब र पश्चिम तर्फको नदी तटिय क्षेत्रमा सिडीहरु निर्माण गरेर तटवन्द गरिदैं छ । निर्माणको कार्य पनि यसै वर्ष सुरु हुदै छ ।
सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार आरती स्थल, देवघाटमा बसपार्क र महानगर भित्रका बिभिन्न ठाउँका १८ किलोमिटर सडक कालोपत्रे एक साथ ठेक्का सम्झौता गरीएको छ । रु ४१ करोड १९ लाखमा ठेक्का लगाईएको हो । १८ महिनामा सम्पन्न हुने गरी महालक्ष्मी ओम सत्यसायी जेभिले निर्माण सम्झौता गरेको छ । आरती स्थलको काम थोरै भएकाले छिटो सम्पन्न हुने छ ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले नदी किनारमा आरती स्थल, तटवन्दन, पैदल मार्ग, हरीयाली पार्क लगाएतको निर्माणको काम एकैसाथ हुन लागेको बताउनुभयो । उहाँले भन्नुभयो “आरती स्थल निर्माण संगै नदी किनारमा नियमीत व्यवस्थित आरती गर्न सहज हुने छ ।”

प्रतिक्रिया दिनुहोस !