चितवनः शहरीकरण र मिश्रत समाजसँगै आधुनिकिरणले जनजातीका युवा पुस्तामा मातृभाषा हराउँदै गएको छ । संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको हो । मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको वेवास्था, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकारहरु बताउँछन् ।
नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मंगलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउनुहुन्छ । चितवन र तनहुँमा रहेका दराईहरुले मातृ भाषा बढी मात्रामा बोलिने भएपनि अन्य जिल्लामा ज्यादै न्यून हुँदै गएको उहाँले बताउनुभयो ।
नेपालका १६ जिल्लामा १६ हजार ७८९ जनसंख्या रहेको दराईका बालबालिकामा भने भाषाको ज्ञान ज्यदै न्यून रहेको उहाँको भनाई छ । जीवन र जाती संरक्षणमा महत्वपूर्ण हुने मातृ भाषा हराउँदै जानुले भविष्यमा लोप हुने जोखिम रहेको उहाँको चिन्ता छ । सरकारले संस्थागत रुपमा अभियान सञ्चालन गरेर मातृभाषा संरक्षणमा काम गर्नुपर्ने दराईको सुझाव छ । उहाँले भन्नुभयो “भाषा संरक्षणका लागि संग्रहालय जस्ता संरचना निर्माण गरेर काम गर्नुपर्छ । सञ्चारमाध्यमले पनि दराई भाषालाई स्थान दिनुपर्छ ।”
थारु कल्याणकारी सभाका महामन्त्री प्रेमिलाल प्रसाद चौधरी पछिल्लो समय युवा पुस्तामा आफ्नो मातृ भाषाको ज्ञान हुनुपर्छ भन्ने भावना जाग्दै गएको बताउनुहुन्छ । बीचको समयमा युवा पुस्तामा हराउँदै गएको भाषालाई पुनः जागृत गराउने कार्य भईरहेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “मातृभाषाको संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्दैछौं ।” देशैभर बोल्ने थारु भाषालाई एउटै मानक भाषा बनाउने काममा कल्याणकारी सभा लागेको उहाँ बताउनुहुन्छ ।
सरकारले समयमै भाषा संरक्षणमा काम गर्नुपर्ने उहाँको सुझाव छ । सभाले देशभर झण्डै ४० लाख थारु जाती रहेको जनाउँदै आएको छ भने सरकारी तथ्यांक १७ लाख मात्रै रहेको उहाँ बताउनुहुन्छ । झापादेखि कञ्चनपुरसम्मका तराई र भित्री मदेशमा थारु जातीको बसोबास छ ।
नेपालका चेपाङ युवा पुस्तामा पनि मातृभाषाको समस्या छ । चेपाङ संघको शिक्षा विभाग हेर्दै आउनु भएका तिलकबहादुर चेपाङ ६८ प्रतिशतले मातृ भाषा बोल्ने बताउनुहुन्छ । भाषाको एकरुपताका लागि तालिम दिने कार्य भईरहेको उहाँको भनाई छ ।
चेपाङ संघले सबैतिरका चेपाङले बोल्ने भाषालाई संयोजन गरेर शब्दकोष समेत प्रकाशित गरेको छ । उहाँको भनाईमा शहरीकरणसँगै युवा पुस्तामा भाषा कमजोर बन्दै गएको छ । यस्तै अवस्था रहेमा चेपाङ भाषा लोप हुने भन्दै उहाँले भन्नुभयो “सरकारले भाषा संरक्षणमा ध्यान दिएको देखिंदैन ।”
चितवन, मकवानपुर र गोरखाका तीन विद्यालयमा चेपाङको मातृ भाषामा पढाई हुँदै आएको छ । चेपाङका शिक्षित युवाले शिक्षक अनुमतिपत्र पाउन नसक्दा भाषा शिक्षकको अभाव भएको उहाँको गुनासो छ ।
नेपालमा ७९ हजार चेपाङ समुदाय रहेको तथ्यांक छ । जसको ३६.१ प्रतिशत मात्रै साक्षर रहेको उहाँले बताउनुभयो ।
नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटे ५० प्रतिशतले मात्रै मातृ भाषा बोल्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “भाषा र संस्कृति हराईसक्यो, जगेर्नाका लागि शुरुवात गरेका छौं ।” युवा पुस्तामा मातृभाषा बोल्ने न्यून हुँदै गएको भन्दै उहाँले समयमै संरक्षण गर्न नसके लोप हुने चिन्ता व्यक्त गर्नुभयो । जनसंख्या कम र छरिएर रहेकाले मातृभाषाको प्रयोग कम हुँदै जाँदा संरक्षणमा कठिनाई भएको उहाँको भनाई छ । उहाँको भनाईमा ९ जिल्लामा ११ हजार ९०० जनसंख्या रहेको छ ।
नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय अध्यक्ष विशाल कुमाल १२ प्रतिशतले मात्रै मातृ भाषा बोल्ने गरेको बताउनुहुन्छ । नेपालमा ७५ जिल्लामा १ लाख २१ हजार १९६ जनसंख्या रहेको जानकारी दिंदै उहाँले गाउँघरमा बुढाबुढीले मातृभाषा बोल्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “बालबालिका अन्य जातीको जस्तो गरी मातृभाषा बोल्दैनन् ।” आफूहरुले राज्यसँग सहकार्य गरेर भाषा संस्कृति संरक्षणका लागि काम गरिरहेको उहाँको भनाई छ ।
पाठ्यक्रम विकास केन्द्रले २८ वटा मातृभाषाको पाठ्यक्रम तयार गरेको छ । केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याल अन्य भाषाको पनि पाठ्यक्रम बन्ने क्रममा रहेको बताउनुहुन्छ । थारु, मैथली, भोजपुरी, अवधि, शेर्पा, मगर, नेवारी जस्ता भाषाको पाठ्क्रम बनेर प्रयोग राम्रो भए पनि अन्य भाषाको पाठ्यक्रम बनेको तर प्रयोगमा कम आएको उहाँले बताउनुभयो ।






