कञ्चनपुर — १७ वर्षीया एक किशोरी ७ महिनादेखि तीन जनाबाट बलात्कृत भएकी छन् । बलात्कारको घटना तब बाहिर आयो जब उनी गर्भवती भएको स्वास्थ्य जाँचबाट थाहा भयो ।
घटना कञ्चनपुरको बेलौरी नगरपालिका २ भैंसोरीको हो । ९ कक्षामा अध्ययनरत रानाथारू समुदायकी किशोरीमाथि जेठदेखि पटकपटक बलात्कार भएको खुलेको छ । आइतबार उनको स्वास्थ्य परीक्षण गर्दा गर्भमा १८ महिनामा बच्चा रहेको पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीले बलात्कारको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोटमाथि जिल्ला अदालत कञ्चनपुरमा आइतबार जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । किशोरीका हजुरबुबाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनीहरूलाई पक्राउ परेका थिए । भण्डारीका अनुसार किशोरी मानसिक रूपमा कमजोर छिन् । त्यही अवस्थाको फाइदा उठाएर ललाईफकाई बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
साधुराम किशोरीकै घरमा ट्र्याक्टर चलाउने काम गर्थे । उनी विवाहित हुन् । उनले जेठदेखि नै ललाईफकाई पटकपटक बलात्कार गरेको खुल्न आएको प्रहरी निरीक्षक भण्डारीले बताए । किशोरीको मानसिक अवस्थाको फाइदा उठाएर दीपक र हरिशंकरले पनि साउन/भदौदेखि पटकपटक बलात्कार गरेको खुलेको छ । उनीहरूले साधुरामले बलात्कार गरेको थाहा पाएको भन्दै ब्ल्याकमेलसमेत गरेको प्रहरीको भनाइ छ । ‘सहमतिमै भए पनि नाबालिग भएका कारण यसलाई जबर्जस्ती नै मानिन्छ,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘त्यहीअनुसार मुद्दा दर्ता भएको छ ।’
किशोरी नियमित स्कुल नजाने तथा घरमा पनि एक्लै बस्ने र झर्किने गर्थिन् । तर आफूमाथि नियमित रूपमा भइरहेको यौन शोषणका विषयमा कसैलाई पनि भनिनन् । जब गर्भको बच्चा हुर्किन थाल्यो र पेट बढ्दै गयो त्यसपछि मात्रै परिवारले थाहा पाए । परिवारले नै उनलाई शनिबार इलाका प्रहरी कार्यालयमा पुर्याएपछि घटना बाहिर आएको हो । किशोरीको पेटमा रहेको बच्चा कसको हो भन्ने खुल्न सकेको छैन ।
‘हामीले त केही थाहा पाएनौं, जब उसको पेट बढ्दै गयो त्यसपछि सोधपुछ गर्दा सबै कुरा खोलिन्,’ किशोरीका हजुरबुबाले भने, ‘बुबा बिरामी छ, आफू पनि उस्तै छे, त्यसको फाइदा उठाए ।’ उनले नातिनीको धनगढीमै उपचार भइरहेको बताए । किशोरीलाई गर्भपतनका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ ।






