भरतपुर, आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिध सभा सदस्यका उम्मेदवार बनेका रविन अधिकारीले आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी “चुनाव चिन्ह हलो” का उम्मेदवार अधिकारीले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिबद्वता सार्वजनिक गरेका हुन् । अधिकारीले आफ्नो प्रतिबद्धता पत्रमा कृषि र पर्यटनलाई विशेष जोड दिएका छन् ।
उनले नेपाली खानाहरूको मौलिक पहिचानका लागि गुन्द्रुक, ढिंडो र सेल रोटी जस्ता खानाको ब्राण्डिङ, लेबलिङ गरी व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
व्यवसायिक योजना सहितको लागत लाभ विश्लेषणका आधारमा कृषिबाली उत्पादन तथा पशुपन्छी पालनमा प्रोत्साहन र उत्पादन परिमाणका आधारमा अनुदानको व्यवस्था गरिने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
प्राङ्गारिक मल प्रयोगमा कृषकलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था, चितवन क्षेत्र नम्बर २ भित्र उत्पादित कृषि उपजको न्यूनतम लागत मूल्य निर्धारण गरी सो मूल्य भन्दा कममा बिक्री गर्नुपर्ने अवस्था सिर्जना भएमा बीमाबाट पूर्ति गर्ने व्यवस्थाका लागि पहल गरिने समेत बताइएको छ ।
कृषिमार्फत अर्थतन्त्रका लागि उत्प्रेरित गर्न चितवन क्षेत्र नम्बर २ अन्तरगत रहेका सम्पूर्ण विद्यालयहरूमा कृषि शिक्षा अध्यापन गर्ने व्यवस्था मिलाउने उनको प्रतिबद्धता रहेको छ ।

अधिकारीले यातायातको सहज व्यवस्थापन गरी सिराईचुली, इच्छाकामना, उपरदाङगढीलाई कृषि, पर्यटन, धार्मिक, सांस्कृतिक, र पर्यटकीय स्थानको रूपमा विकास गर्ने बताएका छन् ।
प्रतिबद्धता पत्रमा ‘किड ट्रेकिङ्ग, बाईकिङ्ग र होमस्टेको लागि आवश्यक पूर्वाधारको विकास गरिने उल्लेख छ । गुणस्तर प्रवर्द्धनका लागि गुणस्तरीय प्रयोगशाला, अन्तर्राष्ट्रिय बजार पहिचान तथा
प्रवर्द्धनमा नीजि क्षेत्रसँग साझेदारी, निर्यातजन्य बाली तथा वस्तुको उत्पादन, प्रशोधन, बजारीकरण, ब्राण्डिड, ढुवानीको लागि सहजिकरण गरिने पनि अधिकारीले प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । उनले कृषि बजारीकरण, कृषि बजार पूर्वाधारको विकास, उत्पादनलाई पनि जोड दिएका छन् ।
नेपालीलाई रोजगारी प्रदान गर्ने तथा स्वदेशी उत्पादन वृद्धिमार्फत आयात विस्थापित गर्ने, उद्यम संचालनमा आवश्यक सहजीकरण गर्न श्रोत साधन युक्त ‘उद्यम विकास केन्द्र’ को स्थापना गर्ने तथा रोजगारीका सूचना तथा तथ्याङ्क सहितको ‘रोजगार बैंक’ सञ्चालन गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

आधुनिक कृषि उत्पादनलाई प्रोत्साहन गर्दै यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरूको पकेट क्षेत्र निर्धारण गरी बेमौसमी उत्पादनलाई प्रोत्साहन गर्ने पनि उल्लेख छ । नारायणी नदी किनारलाई धार्मिक, संस्कृति, प्राकृतिक स्वच्छता कायम गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै पवित्रस्थल देवघाटधामदेखि गोलाघाटसम्म पैदल यात्रा तथा साईकल यात्राको लागि आवश्यक पूर्वाधारको विकास गरिने उल्लेख छ । चितवनमा आवश्यक प्रविधियुक्त आइटी पार्कको स्थापना गर्ने र जिल्लालाई आइटी हबको रुपमा विकास गरिने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
‘चितवनजस्तो हरेक पूर्वाधारले सम्पन्न हुँदै गएको जिल्लालाई आइटी पार्क आवश्यक छ,’ उनले भने, ‘अब चितवनलाई एउटै छातामुनिको आइटी हब बनाउने योजना छ।’ यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली सीपको प्रबर्द्धन गरी वैदेशिक मुद्रा भित्र्याउनमा मद्दत पुग्ने अधिकारीको भनाइ छ ।






