चितवनः आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकहरुले आफ्नो श्रीमती र आफन्तका लागि प्रसुती सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाई त छँदैछ धनाढ्यहरु पनि यहीको प्रसुती सेवा लिन रुचाउँछन् ।

बिरामीको उच्च चाप भएकाले शैया अभाव हुँदा भुईँमै बसेर भए पनि यही अस्पतालको प्रसुती सेवा लिने धेरैको चाहना हुन्छ । प्रसुतीगृहपछि सबैभन्दा धेरैले प्रसुती सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ । प्रसुती सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाई यो अस्पताल पर्ने गर्दछ ।

अस्पतालको तथ्यांकलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार ९६१ जनाले प्रसुती सेवा लिएका छन् । जसमध्ये सामान्य प्रसुती गराउने ७ हजार ४५८, शल्यक्रिया गरेर प्रसुती गराउने ४ हजार १६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका ३३५ जना रहेका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार प्रसुती विभागमा १३ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमित रुपमा दुई तीन जना हुने गर्दछन् । उहाँको भनाईमा प्रसुतीमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ । उहाँले भन्नुभयो “२०–२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो ।” विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन् ।

निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाई भरतपुर अस्पताल हुने गरेको उहाँ बताउनुहुन्छ । निजी अस्पतालहरुको प्राथमिकता शल्यक्रिया हुने भएपनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढंगबाट प्रसुती गराउने प्रयास गरिन्छ । उहाँले भन्नुभयो “यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन ।” निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसुती गराएर घर फर्किदै गर्दा रु.१ हजार समेत दिईन्छ ।

अस्पतालको यो विभागमा १४७ शैया छन् । यसका अतिरिक्त क्याबिनहरु रहेका छन् । प्रसुतीका लागि आएकालाई चार शैयाको भर्ना, १५ शैयाको वेटिङ (पर्खाई), ९ शैयाको एक्टिभ (सक्रिय) र ३ शैयाको लेवर रुम रहेका छन् । यस्तै प्रसुती वार्ड ३६ शैयाको, २६ शैयाको पोष्टनल र २३ शैयाको पोष्टअप रहेका छन् । अस्पतालमा क्रमशः सेवालाई सुधार गरिंदै लगिएको छ । अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसुतीका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ । शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विभागका बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसुतीमा भरतपुर अस्पताल पहिरो रोजाई हो । २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसुतीकर्मीहरुबाट सेवा दिईने भएकोले रोजाईमा परेको उहाँ बताउनुहुन्छ । भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवन सहित ११ जिल्लाका वर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालहरुबाट प्रसुतीका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उहाँले जानकारी दिनुभयो ।

डा. सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्याधिक चापका कारण अझै सोचे जस्तो सेवा दिन नसकिएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो “हामीले यो विभागलाई थप सदृढ बनाउनु पर्छ ।” कोभिड हुन वा अन्य रोगका गर्भवतीहरुको प्रसुती यहाँ गर्ने गरिन्छ ।

अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाई हुने गरेको हो । अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा.योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटर लगायत अन्य जीवनउपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ । बाल सघन उपचार कक्ष लेबल तीनमा (एनआईसियु) मा १२ शैया र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

मध्यम प्रकृतिको जटिलता भएका शिशुहरुका लागि अक्सिन लगायत अन्य औषधोउपचार, फोटोथेरापी तथा अन्य सुविधा सहितका उपचार कक्ष (एस एन सि यु) (लेवल टु) समेत शुरु गरिंदै छ । सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्री पश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नु पर्ने शिशुहरुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शैयाको सञ्चालनमा रहेको छ ।

यस्तै दिन नपुगि जन्मिएका र कम तौल भएका शिशुहरुलाई अरु उपचार पश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पु¥याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धती (कङ्गारु मदर केयर) पाँच शैयाको सञ्चालनमा छ ।

शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दाे व्यवस्था हुँदा प्रसुती गराउन धेरैले यहाँ चाहने गरेको बताउनुभयो । सरकारले संघीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ ।

प्रतिक्रिया दिनुहोस !