चितवनः भरतपुर महानगरपालिकामा पदभार ग्रहण गरे संगै प्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगर भित्रका मासीक सात हजार लिटर सम्म खाने पानीका उपभोक्तालाई निःशुल्क र रु १ लाखको छोरी बिमा कार्यक्रम गर्ने निर्णय गरिएको हो ।
पहिलो पटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र जेष्ठ नागरिकका लागि बहिरंग सेवा टिकट निशुल्कको निर्णय उहाँले गर्नुभएको थियो । दाहालले यो निर्णयले महानगरबासी लाभान्बित हुने बताउनुभयो । महानगर भित्रका झण्डै ५२ प्रतिशत जनताले आजैबाट निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि बार्षिक रु २ करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान रहेको छ ।
महानगर भित्र खानेपानी व्यवस्थापन वोर्ड र उपभोक्ता समिति मार्फत खानेपानी बितरण गरिदैं आएको छ । वोर्डका ग्राहक ३५ हजार छन् । वोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा वढि उपभोक्ता समिति मार्फत महानगरमा खानेपानी बितरण गरिदैं आएको छ । महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट बितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् ।
महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरुबाट जन्मिएका छोरीका लागि रु १ लाखको जीबन बीमा महानगरले गर्न लागेको हो । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो बर्ष १ हजार ७५० जनाको बीमा हुने अनुमान रहेको छ । सरकारी स्वास्थ्य संस्थामा जन्मीएका छोरीहरुले यो अबसर प्राप्त गर्ने छन् ।
राष्ट्रिय बीमा संस्थान मार्फत बीमा गर्न लागिएको हो । एक जनालाई बार्षिक रु ३ हजार ३ सय महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । १५ वर्ष पछि ती छोरीले रु १ लाख पाउने गरि बिमा गर्न लागिएको हो । अर्यालको भनाईमा आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुबिधा लिने अनुमान गरिएको छ ।
पदभार ग्रहण संगै दाहालले महानगरबासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर महानगपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउने छौ ।” महानगरबासीलाई निरास हुन नदिने भन्दै उहाँले सबैको राय सुझाब लिएर काम गर्ने बताउनुभयो । अबको पाँच वर्ष सेकेण्ड÷ सेकेण्डको सदुपयोग गर्दै काम गर्ने दाहालको भनाई थियो । महानगर पालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरबासीका आबश्यकता आँफुहरुले बुझेको भन्दै सोही अनुरुपका योजनाहरु अघि वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर शहर वनाईने छ ।”

प्रतिक्रिया दिनुहोस !