चितवनः विश्वव्यापी फैलिएको कोभिडले पर्यटन व्यवसाय ठप्प भएपछि सौराहाका व्यवसायीले विकल्पको बाटो खोजे । कोभिडको समयमा मजदुर र कर्मचारी समेतलाई विदा दिएर फुर्सदिला बनेका होटलका साहुहरुले सदावहार चलायमान हुने व्यवसायको खोजी गरे । यही क्रममा व्यवसायीहरु सौराहा नजिकैको बकुलहरमा सेभ सुपरमार्केट संचालन गर्ने निचोडमा पुगे ।
शुरुमा तीन जनाबाट थालिएको छलफल र काम अघि बढ्दै जाँदा यो समूहमा १८ जना लगानीकर्ता पुगेका छन् । जसमध्ये १६ जना सौराहाका होटल व्यवसायी रहेको संचालक मध्येका एक सुमन घिमिरेले बताउनुभयो । बकुलहरमा बन्द अवस्थामा रहेको ज्योति हल भएको जग्गा भाडामा लिएर यो समूहले सुपरमार्केट शुरु गरेको हो । उहाँका अनुसार रु.१६ करोड लगानीमा सुपरमार्केट संचालनमा आएको हो ।
पूर्वी चितवनकै सुविधासम्पन्न सुपरमार्केटमा एकै ठाउँमा आवश्यक सम्पूर्ण घरायसी सामान पाईने गरी व्यवस्थापन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । सुपरमार्केट संचालन गर्ने सौराहा भेन्चरस् प्रा.लि.का अध्यक्ष नारायण भट्टराईका अनुसार सुपरमार्केटभित्र सिनेमा हल, सपिङ सेन्टर आदि हुने छन् । सुरुमा सपिङ सेन्टर मात्र सञ्चालन हुनेछ भने त्यसपछि दुइटा थियटरसहित मल्टिप्लेक्स हल सञ्चालन हुनेछ ।
नवनिर्मित सुपरमार्केट तीन तलाको रहेको छ । यसमा पहिलो तल्लामा ग्रोसरी, दोस्रो तल्लामा किचेनवेयर तथा इलेक्ट्रिकल सामान र तेस्रो तल्लामा स्केट पार्क रहेने छ ।
सौराहामा रहेका होटल तथा रेष्टुराँहरुलाई अब सामान खरिदकै लागि भरतपुरसम्म पुग्नुपर्ने बाध्यतालाई हटेको भट्टराईले बताउनुभयो । सञ्चालक दिपेन्द्र खतिवडाका अनुसार समूहले सेभ सुपरमार्केटलाई बिस्तारै आउटलेटका रुपमा चितवनभरि फैलाउने योजना रहेको छ । वैकल्पिक व्यवसायलाई पनि साथमै लैजाने योजनाका साथ उनीहरुले बकुलहरलाई मुख्य कार्यालय मानेर चितवनका विभिन्न क्षेत्रमा सुपरमार्केट सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
सौराहाका होटल संचालकहरु समय समयमा हुने व्यवसायिक उतारचढावका कारण समस्यामा पर्दै आएका छन् । भूकम्प, नाकाबन्दी, कोभिड लगायतले पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ ।






