चितवनः चितवन राष्ट्रिय निकुञ्जको कसरा स्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका २० वटा घडियाल गोही आज कसरा स्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ वटा गोही नदीमा छाडिएको हो ।
गोही नदीमा छोड्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आबश्यक रहेको बताउनुभयो । नदीहरुलाई प्रदुषणबाट रोकेर छोडेका गोही हुर्काउनु पर्नेमा उहाँको जोड थियो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य लगाएतले सबैको साथ र सहयोगकै कारण संरक्षण सम्भव भएको भन्दै आगामी दिनमा निकुञ्ज र जनताको बिचको सम्बन्ध अरु बढि प्रगाढ बनाउँदै लैजानु पर्ने बताउनुभयो ।
कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गण, सेनाको शिक्षालय, मध्यवर्ती उपभोक्ता सामुदायीक वन लगाएतको प्रतिनिधिको सहभागीता रहेको थियो । यस वर्ष वन तथा बातावरण मन्त्री रामसहाय प्रसाद यादवले मंसिर १९ गते राप्ती नदीमा १२ वटा गोही छाडेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
निकुञ्जले यस आर्थिक वर्षमा १ सय गोही छोड्ने लक्ष्य लिएको थियो । सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार आज छाडीएको सहित हाल सम्म बिभिन्न नदीहरुमा १ हजार ६ सय ९२ गोही छाडीएको छ । यस वर्ष राप्ती नदीमा ६७, नारायणीमा २० र कोशीमा २० गोही छाडिएको छ ।






