काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ । गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।
उहाँले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण बारेमा जानकारी लिएको प्रहरी प्रमुखले जानकारी दिएका छन्।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीत लहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताउनुभयो । सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले जानकारी लिनुभएको बताउनुभयो।
‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड–१९ को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीले जानकारी लिनुभयो’, उपरीक्षक काफ्लेले भन्नुभयो ।






