चितवनः कोरोना सङ्क्रमण बढे संगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाईएको छ । कारागार प्रशासनले कोरोना कारागार भित्र सर्न सक्ने देखिएको भन्दै कैदी वन्दीलाई आफन्तहरुसंग भेटघाट वन्द गरेको छ । कोरोना संक्रमण समुदायमा फैलदै गए पछि कारागार प्रशासनले भेटघाट वन्द गराएको हो ।
कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमता भन्दा वढि कैदी वन्दी राख्नु पर्दा समस्या आउने भन्दै उहाँले कारागार व्यवस्थापन बिभागको परिपत्र अनुसार बन्द गरिएको जानकारी दिनुभयो । सार्बजनिक स्थलहरुमा स्थानिय प्रशासनले २५ जना भन्दा वढि जमघट र भेला हुन रोक लगाएको छ ।
उहाँले भन्नुभयो “जोखिम वढे संगै कैदी वन्दीका आफन्तहरु संग भेटघाटमा रोक लगाएका छौ ।” कारागार कार्यालयले वाहिरबाट ल्याईएका कैदी वन्दीको कोरोना परिक्षण नगरि नबुझ्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पिसिआर परिक्षणको रिपोर्ट नभए सम्म कैदी वन्दी हामी बुझ्दैनौ ।” कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भए संगै उच्च साबधानी अपनाईएको उहाँले बताउनुभयो । कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदी वन्दीलाई र अस्पताल लगिराख्नु पर्ने कैदी वन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
जहाँ नयाँ आएका र बिरामीलाई छुट्टै राख्ने गरिन्छ । उहाँले भन्नुभयो “दुईवटा कोठालाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको छ ।” अहिले क्वारेन्टिनमा १३ जना कैदी वन्दी रहेका छन् । बाहिरबाट कारागारमा थपिने कैदि वन्दीको संख्या वढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाई छ । २५ जना महिला र २ सय ५५ जना पुरुष कैदी वन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७ सय १२ जना रहेका छन् । जस मध्ये ४ सय ४५ कैदी तथा २ सय ५८ वन्दी हुन् । कारागारमा रहेका मध्ये ५० जना महिला, ६ सय ६२ जना पुरुष हुन । उनीहरु संगै २ जना आश्रीत बालिका रहेका छन् । कारागार कार्यालय भरतपुरमा बिभिन्न २० वटा मुद्धाका कैदी वन्दी रहेको काफ्लेले जानकारी दिनुभयो ।






