चितवनः जिल्लामा कोभिड–१९ (कोरोना भाईरस) संक्रण तीब्र गतिमा फैलिएको छ । पछिल्ला केही दिन यता संक्रमण निरन्तर बढ्दै गएर पाँच सयभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन् । सरकारले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पुस २६ गतेदेखि जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय सङ्क्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १ सय ९० जनमा कोरोना सङ्क्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना सङ्क्रमितको संख्या ८ सय २८ जना पुगेको छ ।
२ गते जिल्लाका चार वटा प्रयोगशालामा ४ सय ११ जनाको स्वाब परीक्षणका लागि पठाईएकोमा १ सय ५० जना र एन्टिजिन परीक्षमा ९० जनाको गरिएकोमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार सङ्क्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो ।
पिसिआर परीक्षण र एन्टिजिन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जाने थालेको ढकालले बताउनुभयो । उहाँका अनुसार पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ सय १९, २७ गते १ सय ६२ जना, २८ गते २ सय ४० जना, २९ गते ३ सय २७ जना सक्रिय सङ्क्रमित पुगेका थिए । अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र संक्रमण दर वढ्दै गएको छ ।
पुस ३० गते शुक्रबार ३ सय ६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा संक्रमण देखिएको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार ३ सय ६० जनाको परीक्षण गर्दा १ सय ३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । माघ १ गते शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल) मा गरिएको परिक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार २ सय २५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।
जिल्लामा रहेका सक्रिय सङ्क्रमित मध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन् भने ८ सय २ जना होम आइसोलेसनमा रहेका छन् । यहाँ हाल सम्म २८ हजार ६८ जना सङ्क्रमित भई सकेका छन् भने २६ हजार ८ सय ३ जना निको भई सकेका छन् । कोरोना सङ्क्रमित मध्ये ४ सय ३७ जनाको मृत्यु भई सकेको छ । जिल्लामा रहेका सक्रिय सङ्क्रमित मध्ये ६ सय ६६ जना भरतपुर महानगरपालिकाका रहेका छन् । यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना सङ्क्रमित रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय सङ्क्रमित रहेको उहाँको भनाई छ ।
संक्रिय संक्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाईदैन । माक्सको प्रयोग बढेपनि भिडभाड कायमै रहेको छ ।






