चितवन, १३ कात्तिक । चितवनमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिईने भएको छ । जिल्लाका सातै पालिकाका वडामा रहेका खोप केन्द्रहरुमार्फत् सबैलाई खोप दिन लागिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार १८ वर्षमाथिका सबैलाई पहिलो मात्रा खोप दिन लागिएको हो । एक मात्रा पनि खोप नलगाएका १८ वर्षमाथिका सबैलाई खोप लगाउन पाउने उहाँको भनाई छ । पहिलो मात्रा लगाएका र खोप मिल्ने भएमा दोस्रो मात्रा खोप पनि दिन सकिने तिवारीले बताउनुभयो । उहाँले आआफ्नो वडामा रहेको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्नुभयो । उहाँले  भन्नुभयो “आफ्नै वडाको खोप केन्द्रमा गएर खोप लगाउनुहोस्, अन्यत्र जाँदा व्यवस्थापनमा कठिनाई हुन्छ ।”

खोप लगाउँन जाँदा स्वास्थ्य सावधानी अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । माक्स लगाएर सामाजिक दूरी कायम गर्नुपर्ने उहाँको भनाई छ । खोप लगाउन जाँदा नागरिकता लगायतका परिचयपत्रका साथमा जानु पर्ने व्यवस्था रहेको छ ।

चितवनमा भेरोसिल र एस्ट्राजेनिका खोप लगाउन लागिएको हो । हालसम्म जिल्लामा २ लाख ८४ हजारले पहिलो मात्रा र ती मध्ये २ लाख ५० हजार हाराहारीले दोस्रो मात्रा खोप लगाईसकेका छन् । जिल्लामा करिब ५० हजार जनालाई खोप लगाउन बाँकी रहेको अनुमान गरिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।

हाल जिल्लामा ४५ हजार भेरोसिल खोप आईसकेको छ । भोलि सोमबारसम्म थप २५ देखि ३० हजार एस्ट्राजेनिका खोप आउने उहाँले जानकारी दिनुभयो ।

हेर्नुहोस् कुन पालिकामा कहाँ छ खोप केन्द्र ?

प्रतिक्रिया दिनुहोस !