चितवन, १२ कात्तिक । मौलाकालिका अस्पतालले युरोलोजी (मूत्ररोग) विभागमा छुटैछुट घोषणा गरेको छ । भरतपुरको चौबीसकोठीमा रहेको अस्पतालले प्रत्येक शनिबार १२ बजेदेखि ४ बजेसम्म परीक्षण गर्न आउने बिरामीलाई निःशुल्क परीक्षणको व्यवस्था गरेको हो ।
अस्पतालका म्यानेजिङ डाईरेक्टर डा।केशवराज भूर्तेलका अनुसार उक्त समयमा परीक्षण गर्न आउने बिरामीले ओपिडि टिकट निःशुल्क पाउने छन् । यस्तै सोही समयमा परीक्षण गरेकाहरुको भिडियो एक्सरेमा ५० प्रतिशत छुट, रगतको क्रेटिनाईन र पिसाबको परीक्षण निःशुल्क गरेको उहाँले जानकारी दिनुभयो ।
युरोलोजिष्ट डा। प्रेमराज सिग्देलले अस्पतालबाट सेवा दिंदै आउनु भएको छ । डा. सिग्देलले समस्या देखिएपछि मात्रै परीक्षण गर्न आउने प्रचलन रहेको बताउँदै प्रत्येक ६-६ महिनामा मूत्ररोगको परीक्षण गराईरहनु पर्ने बताउनुभयो । उहाँले मृगौला (किड्नी) जस्ता महत्वपूर्ण अंगको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिनुभयो ।
पछिल्लो समय मानिसहरुको खानपानका कारण मृगौलाको समस्या बढी देखिने गरेको बताउँदै उहाँले भन्नुभयो “समयमै उपचार गर्ने हो भने थोरै खर्च र समयमा रोग निको बनाउन सकिन्छ ।”
यस बिभागमा यूरिनरी सिस्टमसँग सम्बन्धित रोगहरु परीक्षण र उपचार गरिने जानकारी दिंदै डा. सिग्देलले मृगौलाका रोगहरु, यूरेटर, यूरिनरी ब्लाडर, प्रोस्टेट तथा यूरेथ्रालगायतका यूरोलोजिका बिभिन्न अंगहरुसम्बन्धि समस्याको उपचार गरिंदै आएको बताउनुभयो । उहाँले अस्पतालबाट किड्नी स्टोन तथा एनलाज्र्ड प्रोस्टेटलगायतका यूरिनरी सिस्टमसँग सम्वन्धित समस्याहरुको औषधि र आवश्यकता अनुसार सर्जरी माध्यमबाट उपचार गरिंदै आएको जानकारी दिनुभयो ।






