काठमाडौं,९ कात्तिक । काठमाडौंमा आजदेखि एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका ८६ हजार व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउँदै छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ माथि उमेरका सबैलाई पहिले उपलव्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्रको आधारमा दोस्रो मात्रा लगाउन लागिएको हो।
काठमाडौं महानगरपालिका भित्र नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल महाबाैद्य, परोपकार प्रसूतीगृह अस्पताल थापाथली र निजामती कर्मचारी अस्पताल खाेप लगाइने व्यवस्था गरिएकाे छ।
यस्तै जिल्ला भित्रका कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा पनि आजदेखि र काठमाडौंमहानगरमा बुधबारदेखि ३२ वटै वडामा खोप सञ्चालन हुने बताइएकाे छ।
यसैगरी, वैदेशिक रोजगार तथा वैदेशिक भ्रमणमा जानेहरुका लागि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ।







