चितवनः भरतपुर बिमानस्थलको धावनमार्ग आसपास क्षेत्रको झाडी सफा नहुँदा जोखिम वढेको छ । झाडीमा स्याल, दुम्सि लगाएतका जनाबरको बासस्थान बन्दै गएको छ ।

जहाज अवतरण र उडानका लागि गुडेका बेला ती जनाबर धावन मार्गमा आएमा दुर्घटना हुन सक्ने उच्च जोखिम देखिएको छ । बिमानस्थल प्रशासनले बजेटको अभाव भन्दै वेवास्ता गरेका कारण जुनसुकै समयमा जोखिम हुन सक्ने चिन्ता सरोकारवालाहरुको छ । बिमानस्थलको टावरबाट धावनमार्ग राम्रो संग हेरेर मात्र जहाज अबतरण र उडान गर्ने गरिन्छ ।

धावनमार्ग छेवै सम्म झाडी वढेकाले टावरबाट सफा देखिए पनि तत्काल जनावर आउन सक्ने जोखिम उच्च छ । नागरिक उड्ययन प्राधिकरण भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्मा बेलाबेलामा सरसफाई गर्ने गरेको भए पनि अहिले केही वढेको स्विकार गर्नुहुन्छ । बजेट लगाएतका कारण काम रोकीएको उहाँको भनाई छ । झाडी सफा गर्ने ट्याक्टरले काम गर्न नसकेकाले पनि झाडी वढेको उहाँको तर्क छ । धावनमार्गमा स्याल र चराहरु आउँदा बिमानस्थलको दमकलले साइरन वजाएर लखेट्ने गरिएको छ । झाडी संगै पानी तरकाउन वनाईएको नालिमा स्याल लुक्ने गर्दछन् । उहाँले भन्नुभयो “हामीलाई स्यालले निकै दुःख दिने गरेको छ ।” यस संगै बिमानस्थ भित्रको सरसफाईमा समेत कमि रहेको गुनासो आउने गरेको छ ।

नागरिक उड्ययन प्राधिकरणका प्रबक्ता राजकुमार क्षेत्रीले झाडी फाँड्न र कार्यालय सरसफाइमा बजेटको अभाव नहुने बताउनुभयो । बिमानस्थलको धावन मार्ग आसपासको क्षेत्र सरसफाई हुनु पर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो “सरसफाई हुनु पर्छ । के रहेछ म बुझ्छु ।” स्थानीय सञ्चार माध्यममा प्रकाशित एक तस्बिरमा धावनमार्गमा बच्चा खेल्दै गरेको तस्बिर समेत प्रकाशित भएको छ । दुई वर्ष अघि राजमार्गमा ट्याक्टरले बोकेको भैसी हामफालेर धावनमार्ग पुगेपछि सुरक्षा व्यवस्था कडा परिएको थियो । बिमानस्थलको सुरक्षा नेपाल प्रहरीको प्रहरी नायब निरिक्षकको नेतृत्वमा हुने गरेको छ ।

बिमानस्थलमा अहिले दैनिक १० उडान हुने गरेका छन् । बुद्ध एयरले काठमाडौं, पोखरा र भैरहवा उडान भर्दै आएको छ । बिमानस्थलमा केहीदिन अघि बिशिष्ट कक्षमा आगलागी समेत भएर क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस !