काठमाडौंः विश्व स्वास्थ्य संगठनको सहजीकरणमा खोप सञ्जाल (कोभ्याक्स) ले अनुदानमा उपलब्ध हुने खोप एक महिनामा नेपाल आउने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले एक महिनाभित्र खोप उपलब्ध हुने बताउनुभयो ।

गरिब तथा निम्न आय भएका देशका लागि कोभ्याक्सले जनसंख्याको २० प्रतिशत डोज खोप उपलब्ध गराउने मापदण्ड बनाएको छ। त्योमध्ये यसअघि कोभ्याक्सले अनुदानको पहिलो खेप ३ लाख ४८ हजार डोज नेपाललाई दिइसकेको छ।

‘कोभ्यासबाट आउने खोप कति आउने भन्ने आधिकारिक सूचना प्राप्त भएको छैन,’ डा. पोखरेलले भन्नुभयो ‘ तर, एक महिनासम्म खोप दिइसक्ने उनीहरूले बताएका छन्।’ यसपालि एस्ट्राजेनेका खोप आउनसक्ने उहाँले बताउनुभयो । यसअघि भारतले बनाएको कोभिसिल्ड दिएको थियो।

‘१४ लाख डोज उपलब्ध गराइदेऊ भनेर हामी लागिरहेका छौं। अब आउँदा धेरैमात्रामा आउँछ भन्ने आश गरेका छौं,’ उहाँले भन्नुभयो।

फागुनको अन्तिम सातामा कोभिसिल्डको पहिलो डोज खोप लगाएर बसेका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप पाएका छैनन्।

१३ लाखको हाराहारीमा रहेका जेष्ठ नागरिकलाई उपलब्ध हुने खोप प्राथमितामा राखिएको छ ।

‘अब उपलब्ध खोपमा दोस्रो डोज लिन बाँकी जेष्ठ नागरिकलाई दिने छौं। बढी खोप आयो भने उमेर समूहमा जान्छौं,’ उहाँले भन्नुभयो ।

भारतको सेरम इन्स्टिच्युटले दिनुपर्ने १० लाख डोज र थप खोपका लागि पनि पहल भइरहेको छ। कोभिसिल्ड खोप सुरूमा ४ सातापछि दोस्रो मात्रा लगाउने भनिए पनि पछि ८ देखि १२ साता र पछिल्लो समय १२ सातापछि कुनै पनि बेला जति सक्दो चाँडो लगाउने समय निर्धारण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४२ लाख ४८ हजार डोज खोप नेपालमा आइपुगेको छ। प्राप्त खोपलाई सरकारले प्राथमिकता निर्धारण गरी खोप कार्यक्रम सञ्चालन भइरहेको गरेको छ। हालसम्म २४ लाखले खोपको पहिलो डोज प्राप्त गरेका छन्। ७ लाखले दोस्रो डोज लगाइसकेका तथ्यांक मन्त्रालयको छ। भारतमा उत्पादित कोभिसिल्ड र चीनमा उत्पादित भरोसेल खोप नेपालमा प्रयोग भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !