चितवनः कोरोना सङ्क्रमणको हटस्पट बनेको भरतपुरका अस्पतालहरुले सुरक्षित रुपमा प्रसुती सेवा दिईरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसुती सेवा दिएका हुन् ।
अस्पतालहरुले बहिरंग सेवा बन्द गराएर मुख्य रुपमा कोरोना सङ्क्रमितको उपचार गराईरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोना बाहेकका कमै मात्र बिरामी आएका छन् । यसका बाबजुद सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् ।
भरतपुर अस्पतालका प्रसुती विभाग प्रमुख डा.सुनिलमणि पोखरेलका अनुसार जिल्लामा अन्य समयमा दैनिक ५० हाराहारी सुत्केरी हुने गर्दछन् । यति बेला यो संख्या ४० हाराहारी छ । गोरखा, मकवानपुर, नवलपरासी लगायतका जिल्लाका सामान्य सुत्केरीहरु स्थानीयस्तरमै हुने गरेका छन् । जसका कारण केही संख्यामा कमी आएको उहाँको भनाई छ ।
जिल्लामा सुत्केरी हुनेमध्ये आधा भरतपुर अस्पतालमा हुन्छन् भने बाँकी दुई मेडिकल कलेज र निजी अस्पतालमा हुने गरेको पोखरेल बताउनुहुन्छ । उहाँको भनाईमा सुत्केरी गराउनु पर्ने मध्ये ४० प्रतिशतलाई शल्यक्रिया गर्नु पर्छ ।
भरतपुर अस्पतालमा यतिबेला पूर्ववत अवस्थामा उच्च सावधानीका साथ सेवा दिईएको उहाँको भनाई छ । कोरोनाको दोस्रो लहरमा यो विभागमा एक जना चिकित्सक र दुई जना नर्स सङ्क्रमित भएका छन् । अस्पतालमा १२ जना चिकित्सक र १८ जना नर्सले यो सेवा दिईरहेका छन् । यसै समयमा सङ्क्रमित भएका सात जनाको सामान्य तरिकाबाट सुत्केरी गराईएको छ । दुई जनाको शल्यक्रिया गरिएको छ । तीन जना आईसोलेसनमा रहेको पोखरेलको भनाई छ ।
सोही अस्पतालको प्रसुती विभागमा कार्यरत नर्स रेखा तिवारी आफूहरुले स्वास्थय मापदण्ड पूर्ण पालना गरेर सेवा दिईरहेको बताउनुहुन्छ । माक्स, टोपी, फेससील, गाउन, पञ्जा जस्ता सुरक्षा सामग्रीको प्रयोग गरेर सेवा दिने गरेको उहाँको भनाई छ । आवश्यकता अनुसार पिसिआर परीक्षण गरेर सुरक्षित विधिबाट प्रसुती सेवा दिईदै आएको छ । सङ्क्रमित र अन्यका लागि शल्यक्रियादेखि अन्य सबै सेवा फरक फरक ठाउँबाट दिईएको छ ।
अधिकांश चिकित्सक स्वास्थ्यकर्मीले खोप लगाएकाले निर्धक्कका साथ काम गरिरहेको तिवारी बताउनुहुन्छ ।
चितवन मेडिकल कलेजमा प्रसुती विभाग हेर्दै आउनु भएका डा.सविता श्रेष्ठका अनुसार अहिले दैनिक दुई÷तीन जनाले प्रसुती सेवा लिने गरेका छन् । अन्य समयमा यो संख्या ५ देखि १० हुने गरेको उहाँको भनाई छ । वैशाख यता सङ्क्रमण भएका ४ जनाको शल्यक्रिया र पाँच जनाको सामान्य ढंगबाट प्रसुती गराईएको उहाँले जानकारी दिनुभयो ।
सामान्य विधिबाट गरिएकामध्ये दुईको भ्याकुम प्रयोग गरिएको थियो । थोरै जनशक्तिलाई प्रयोग गरेर सेवा दिईरहेको श्रेष्ठ बताउनुहुन्छ । बहिरंग र प्रसुती दुवै सेवा सुरक्षित ढंगबाट दिईएको उहाँको भनाई छ ।
बरिष्ठ प्रसुती रोग विशेषज्ञ समेत रहनु भएका चिकित्सक संघ चितवनका अध्यक्ष लोकबहादुर सेढाई सामान्य अवस्थामा आफूहरुले टेलिफोनबाटै सेवा दिईरहेको बताउनुहुन्छ । जटिल अवस्था भएमा टेलिफोनबाट समय मिलाएर सुरक्षित ढंगबाट अस्पतालमा सेवा दिने गरेको उहाँको भनाई छ । नारायणी सामुदायिक हस्पिटलमा कार्यरत डा. सेढाई अन्य बिरामी जस्तो पछि उपचार गरौला भन्न नमिल्ने भएकाले आवश्यक भएमा रात दिन जुनसुकै समय पनि आफूहरुले सेवा दिईरहेको जानकारी दिनुभयो ।
पहिले प्रसुती सेवा दिएका जिल्लाका सबै अस्पतालले अहिले पनि सुरक्षित ढंगबाट सेवा दिईरहेका छन् । राजधानी काठमाण्डौंपछि सबैभन्दा धेरै प्रसुती सेवा दिने भरतपुर हो । यहाँ चितवन सहित छिमेकी धेरै जिल्लाहरुबाट प्रसुतीका लागि आउने गर्दछन् । यहाँका अस्पतालहरुमा बाल सघन उपचार कक्ष रहेकाले जटिल अवस्थाका सुत्केरीलाई छिमेकी जिल्लाहरुबाट यहाँ पठाउने गरिन्छ ।






