चितवन : नेपालकै प्रख्यात एवम् चर्चित धार्मिक पर्यटकीयस्थल रुपमा रहेको मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि रुख कटान सुरु गरिएको छ ।आज (सोमबार )एक कार्यक्रमका बीच रुख कटान अभियान सुरु गरिएको हो । कार्यकर्ममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैडाकोट नगरपालिका वडा न १ मा रहेको चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर नवलपरासी पूर्वकै गौरवको आयोजनाको रुपमा रहेको बताउनुभयो ।

केवलकार स्थापनाको कार्य सुरु भएको वताउदै उहाँले यो कार्य आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताउनुभयो ।यो आयोजना निर्माण सम्पन्न गर्न नगरवाट पूर्ण सहयोग हुने भन्दै उहाँले यसले स्थानीयको आयआर्जनमा समेत परिवर्तन ल्याउनुका साथै रोजगारीको अवसर र नगरको विकासमा ठूलो टेवा मिल्ने बताउनुभयो ।केवलकार स्थापना भएपछि मैलाकालिका मन्दिरको विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत कोशेढुँगा सावित हुने पौडेलको दावी छ ।

उहाँले आजबाट रुख कटानको अभियान सुरु गरिएको बताउँदै एक वर्षभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । पौडेलले सानाठूला गरी करिव १ हजार ३८ वटा रुखहरु काटिने जानकारी दिनुभयो । उहाँले जेठ मसान्तसम्ममा रुख कटान कार्य सकिने बताउनुभयो । त्यस्तै गैडाकोट नगरपालिका वडा न १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले लामो समयको संघर्षपछि केवलकार निर्माणले साकार पाएको भन्दै यो वडाको पनि गौरव भएको बताउनुभयो । उहाँले जनप्रतिनिधिको हैसियतले निरन्तर अनुगमन गर्ने र आवश्यक सहयोग हुने बताउनुभयो ।

त्यस्तै मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताउनुभयो । उहाँले धेरै निर्माण कम्पनी आएपनि चन्द्र ढकालको कम्पनीसँग मात्रै सामाजिक हित सहितको सहमति बनेपछि निर्माण अनुमति दिएको बताउनुभयो ।

सापकोटाले योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिनेदेखि एउटा समिति बनेर थप काम गर्ने सहमति भएर मन्दिरको ३४ औँ साधारणसभाले निर्माण अनुमति दिएको बताउनुभयो । कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने दावी गर्नुभयो ।

उहाँले आइएमइ समूहले केवलकार स्थापना गर्न लागेको बताउनुभयो । आइएमइ समूहले चन्द्रागिरिमा पनि केवलकार स्थापना गरेको बताउदै उहाँले करिब रु एक अर्बको लगानीमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहने व्यवस्था रहेको बताउनुभयो ।

साउदका अनुसार गैँडाकोट १ धारापानीमा चढ्ने गरी स्टेशन रहने र ओर्लने स्टेशन मन्दिर नजिक रहेको हेलिप्याड तोकिएको छ । दुई वटा स्नेशन रहने केवलकारको लम्बाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने छ । दैनिक ६ हजार यात्रु आवतजावत गराउने सक्ने क्षमता रहने छ ।

प्रतिक्रिया दिनुहोस !