चितवनः पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न अस्पताल र स्थानिय तहले राखेको आइसोलेसनमा रहेका १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडीकल कलेज, पुरानो मेडीकल कलेज, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल र राप्ती नगरपालिकाको आइसोलेसनमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार भरतपुर अस्पतालमा एक जना, चितवन मेडीकल कलेजमा ६ जना, पुरानो मेडिकल कलेजमा ५ जना, बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक जना र राप्ती नगरपालिकामा एक जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार मृत्यु हुनेमा चार जना जिल्लाका रहेका छन् भने अन्य जिल्ला बाहिरका रहेका छन् ।
जिल्लाका अस्पतालमा २ सय ५१ जना सघन उपचार कक्षमा, एचएफएनसीमा ५० जना, एचडियुमा ९६ जना र सामान्य आइसोलेसनमा १ सय ५५ जनाको उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । जस मध्ये २ सय २२ जना जिल्लाका हुन भने अन्य जिल्ला बाहिरका हुन् । कार्यालयका अनुसार आज जिल्लामा ३९ जनाले कोरोना जितेर घर फर्कीएका छन् ।
ढकालका अनुसार जिल्लामा हाल ३ हजार ८ सय ६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । जस मध्ये ३ हजार ६ सय ३७ जना होम आइसोलेसनमा रहेका छन् । ३ जना स्थानिय तहले निर्माण गरेको आइसोलेसनमा रहेका छन् ।