सङ्क्रमितलाई अस्पताल ल्याउँदै भरतपुर महानगर

चितवनः कोरोना भाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक सङ्क्रमितलाई अस्पताल सम्म निःशुल्क ल्याउने अभियान सुरु गरेको छ । यस संगै दुई स्थानमा आइसोलेसन तयार गर्दै छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुईवटा एम्बुलेन्स सङ्क्रमितलाई अस्पताल ल्याउनका लागि तयारी अबस्थामा राखिएको बताउनुभयो । शहरी क्षेत्रकालाई भन्दा ग्रामिण क्षेत्रका सङ्क्रमितलाई अस्पताल सम्म आउन कठिन हुने भएकाले एम्बुलेन्सको व्यवस्था गरिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “महानगर भित्रै कोरोना उपचारका लागि तीन ठूला अस्पताल रहेका छन् । ती अस्पताल सम्म ल्याउने व्यवस्था महानगरले गर्छ ।” सामान्य अबस्थाका सङ्क्रमित घरमानै बसेको र जटिललाई अस्पतालमानै राख्नु पर्ने भएकाले यसको व्यवस्थापनमा महानगर जुटेको उहाँको भनाई छ ।

प्राथमिक स्वास्थ्य केन्द्र शिवनगर र स्वास्थ्य चौकी शारदानगरमा आइसोलेसन कक्ष तयारी गरिने पनि उहाँले जानकारी दिनुभयो । यी दुई ठाउँमा कम्तिमा ५० शैयाको आइसोलेसन कक्ष निर्माण गर्न सकिने छ । कोरोनाको उपचार गर्न तोकीएका अस्पतालहरुको शैया भरिएमा आइसोलेसन कक्षलाई सञ्चालनमा ल्याइने उहाँको भनाई छ ।

ती आइसोलेसन अक्सिजन सहितको सुबिधा सम्पन्न हुने छन् । कोभिड १९ को रोकथाम र उपचारको लागि आँफ्नै नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षी समिति गठन गरिएको छ । उहाँले कोरोनाका लक्षण देखिएकाहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरेको बताउनुभयो ।

स्वास्थ्य विज्ञहरू स्वास्थ्य संस्था प्रमुखहरू र स्थानीय प्रशासनसंग जोखिम न्यूनिकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको बताउँदै उहाँले हरेक टोल टोलमा माइकिङ्ग मार्फत सचेतना कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधआज्ञालाई सफल पार्न समन्वय गरिएको बताउनु भयो । उहाँले भन्नुभयो “संङ्क्रमितहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।”

भरतपुर केन्द्रिय अस्पताल, मेडिकल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूसंग समन्वय गरी सङ्क्रमितहरूको उपचारका लागि प्रभावकारी ढङ्गले अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताउनुभयो ।

जिल्लास्थित अन्य कार्यालय तथा संघ संस्थाहरूसंगको समन्वयमा कोभिड रोकथाम तथा उपचारको लागि समन्वय र सहजीकरण भइरहेको महानगरको भनाइ छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडा स्थित सर्वपक्षिय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाइ कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ । महनगरबासीको स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएर आवश्यकता अनुसार थप कामहरू गर्दै जाने योजनाका साथ भरतपुर महानगर अगाडि बढिरहेको महानगर प्रमुख दाहालको भनाइ छ ।

गत वर्ष भरतपुर महानगरपालिकाले वागेश्वरीमा सञ्चालन गरेको आइसोलेसनबाट ५ सय जना सङ्क्रमितले सेवा लिएका थिए । महानगरपालिकाले अस्थायी अस्पताल स्थापना गरि भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer