चितवनः गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परि १ सय १६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ३ सय ७६ दुर्घटनामा परि उनीहरुले ज्यान गुमाएका हुन ।
दुर्घटनामा परि ६ सय १२ जना घाईते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाईते मध्ये २ सय ८१ जना गम्भिर र ३ सय ३१ जना सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानविय क्षेती सबैभन्दा वढि भएको छ । सो महीनामा भएका ३९ दुर्घटनामा २६ जनाको ज्यान गएको छ । सबैभन्दा कम बैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परि २÷२ जनाको ज्यान गएको तथ्याङ्क छ । ती दुर्घटनामा ५ सय ७३ सवारीसाधन परेको उहाँले जानकारी दिनुभयो ।
सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा धेरै मोटरसाईकल रहेका छन् । २ सय ८६ वटा मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
। वि. सं. २०७६ सालको चैत सम्म जिल्लामा भएका ३ सय १६ दुर्घटनामा परि १ सय २३ जनाको ज्यान गएको थियो । त्यस बर्ष मंसिरमा सबैभन्दा धेरै १९ जनाको ज्यान गएको थियो । सबै भन्दा कम चैत महीनामा ३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
दुर्घटना न्यूनिकरणका लागि कार्यालयले बिभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको भए पनि दुर्घटना र मृत्यु दर घटाउन कठिन भएको भट्टको भनाई छ । साँघुरो बाटो र सवारीको चाप वढि भएका कारण दुर्घटना वढि हुने गरेको उहाँले बताउनुभयो । दुर्घटना वढि संख्यामा पूर्ब पश्चिम लोकमार्गमा भएको तथ्याङ्कले जनाएको छ ।






