चितवनः नारायणगढ–मुग्लिङ सडक खण्ड आज देखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेबाट बिहान १०ः३० बजे देखि दिउँसो ३ बजे सम्म बन्द गरिएको सडक आज दिउँसो देखि नियमित सञ्चालनमा आउने भएको हो ।

पहिरो खस्ने काम रोक्नका लागि एक साता सो स्थानमा दुइ तर्फि सवारी आवागमन रोकी काम भएको थियो । आज दिउँसो ३ बजे सम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमित रुपमा आवागमन सुरु हुने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर सविना रानाभाटले जानकारी दिनुभयो । सो ठाउँमा गाडी रोकेर पहिरो रोक्ने काम सम्पन्न भएको छ ।

सोही ठाउँ नजिकै गत वर्षको असार पछि ठूलो पहिरो खसेको भए पनि तत्काल पन्छाउने योजना छैन । रानाभाटले भन्नुभयो“हाल रोकथाम गरेको पहिरो भन्दा अझ माथि ठूलो पहिरो छ ।” यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । हालको ठेक्कामा सो पहिरो समाबेश नहुने भएकाले बजेटको व्यवस्थापन गरेर काम गर्नुपर्ने रानाभाटले जानकारी दिनुभयो ।

जुन सुकै वेला सो पहिरो खस्न सक्ने भएकाले उच्च साबधानी अपनाउनु पर्ने देखिएको उहाँको भनाई छ । गतसाल पहिरो रोकथामका लागि भएको ठेक्का मध्ये आठ ठाउँको सम्पन्न भएकोमा बाँकी रहेको चार किलोको यस वर्ष सम्पन्न गरिएको हो । रु १४ करोडमा पहिरो रोकथामका लागि ठेक्का गरिएको उहाँको भनाई छ । यो सडक बिस्तारका क्रममा ठाउँठाउँमा भित्तो काटिए पछि पहिरोको जोखिम वढेको थियो । सडक बिस्तार संगसंगै पहिरो रोकथामको काम पनि अघि वढाइएको थियो ।

यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !