
चितवनः जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो ।
कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णीमा क्षेत्रीका अनुसार जिल्लामा लगाईएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो । उहाँका अनुसार अहिले ५० विगाह क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लामा १४ हजार ३ सय हेक्टरमा वसन्ते मकै लगाईने गरिएको छ । गत वर्ष ५१ हजार ५१ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै बर्से ६ हजार ७३ हेक्टरमा र हिउँदे ४ हजार ९ सय ८५ हेक्टरमा मकै लगइने गरेको उहाँले जानकारी दिनुभयो ।
बिशेषगरी यो किराले मकैको बिरुवा चारदेखि पाँच पाते हुन लागेपछि आक्रमण गर्ने गर्दछ । सो समयमा फौजी किराको माउले फुल पार्ने र त्यो फुल लार्भा हुँदै विकसित भई मकैको पात खाने गर्दछ । ठूलो भएपछि गुभो खाने गरेको क्षेत्रीले बताउनुभयो । सन् २०१९ मा नेपालमा पहिलो पटक देखिएको यो किरा बिषादी पचाउन सक्ने भएकाले कृषहरुले मकै बारिमा बिशेष ध्यान दिनुपर्ने उहाँको सुझाब छ ।
किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाह बमोजिम विषादी छर्कनु पर्ने उहाँले बताउनुभयो । बिहान ११ वजेदेखि बेलुका ३ वजेसम्म मात्रै विषादी छर्नु पर्ने विज्ञहरुको सुझाव छ । मकैको पातमा लार्भाले क्षति गरेको प्वालहरु तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित भई बिषादीको प्रयोग गर्न सकेमा प्रकोप नियन्त्रण गर्न उहाँको भनाई छ ।
केन्द्रका प्रमुख राजन ढकालले अहिले फौजी किराले मकै सानो हुँदा देखिनै आक्रमण गर्न थालेको बताउनुभयो । कृषकहरुले मकै लगाए पछि वारिमा खासै नजाने हुँदा नियन्त्रण गर्न कठिन हुने उहाँको भनाइ छ । यसको नियन्त्रणका लागि कार्यालयले बालि उपचार शिबिर सञ्चालन गर्दै आएको ढकालले जानकारी दिनुभयो । कृषक आँफै सजग नभए सम्म अमेरीकन फौजी किरा नियन्त्रणमा समस्या आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कृषकले आफ्नो बारिमा लगाएको मकैको राम्रो संग ख्याल गर्न जरुरी छ ।”
भरतपुर महानगरपािलका वडा नम्बर ६ पारसनगरका कृषक धर्मराज पौडेल अहिले मकैमा सेतो पुतली जस्तो किराले क्षती गरेको बताउनुहुन्छ । मकै उम्रिए देखिनै पुतलीले पातहरु खाने गरेको उहाँको भनाई छ । पौडेलले आफ्नो संगै अरुको पनि मकैमा समस्या देखिएको जानकारी दिनुभयो । पुतली उढ्ने र यसलाई बिषादीले समेत काम नगर्ने समस्या छ । यसको नियन्त्रणका लागि ट्रयाप (पुतली पर्ने पासो) राखि नियन्त्रणको काम भईरहेको उहाँले बताउनुभयो । यस पासोमा दुई दिनको आधा किलो जति पुतली पर्ने गरेको पौडेलले बताउनुभयो ।