चितवनः जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो ।

गत वर्ष जिल्लामा १२ हजार २ सय ६२ हेक्टर क्षेत्रफलमा १२ हजार ३ सय ६ मेट्रिकटन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा १४ हजार ७ सय १४ दशमलब ४ मेट्रिकटन उत्पादन भएको ज्ञानकेन्द्रका सूचना अधिकारी सूरुची त्रिपाठीले जानकारी दिनुभयो ।

त्रिपाठीका अनुसार जिल्लामा यस वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलब २ प्रतिशत रहेको छ । गत वर्ष उत्पादकत्व १ प्रतिशत रहेको थियो । यस वर्ष तोरीका लागि मौसम अनुकुल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन वढेको उहाँले बताउनुभयो । जिल्लाको ईच्छाकामना गाउँपालिकाको वडा नम्बर ७ र अन्य ६ वटा पालिकामा तोरी खेती गरिदै आएको छ । जिल्लाका किसानहरुले तोरी खेतीमा बढी मात्रामा एमोनियम सल्फेट प्रयोग गर्ने गरेको उहाँको भनाई छ । यसको प्रयोगले तेलको उत्पादन वढी हुने गरेको कार्यालयले जनाएको छ । रसायनिक मलको सट्टामा किसानले यसको प्रयोग गर्ने गरेको भए पनि यसले माटोको उर्बराशक्तिमा कम हुने उहाँले बताउनुभयो ।

बिशेष गरि खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिदै आएको छ । सिँचाइको सुबिधा भएका ठाउँहरुमा तोरी राम्रो उत्पादन भएको उहाँले बताउनुभयो । नेपालमा लगाइने बाली मध्ये छैठौं बालीको रुपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैठौं बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबाली पछि तोरीलाई लिने गरिएको छ ।

नेपालमा २ लाख ६० हजार ३ सय ७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिदैं आएको छ । जहाँ बार्षिक २ लाख ८० हजार ५ सय ३० मेट्रिकटन उत्पादन हुने गरेको ज्ञानकेन्द्रले जनाएको छ । तेलहन बाली गरिने क्षेत्र मध्ये ९० प्रतिशत क्षेत्रमा तोरी खेती गरिने गरेको छ । १० प्रतिशत क्षेत्रफलमा सूर्य मुखी, सरसिउ, तिल, आलस जस्ता तेलहन बाली गरिने गरिन्छ । कैलाली, बर्दिया र दाङ्मा बिशेषगरी तोरी खेती बढी गरिन्छ ।

पहिले पहिले चितवन तोरीका लागि प्रख्यात जिल्ला मानिन्थ्यो । पछिल्ला वर्षहरुमा तोरीको उत्पादन घट्दै गएको थियो । पुनः तोरीको उत्पादन वढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !