
चितवनः पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिएको छ । लगातार परेको दुई दिन बिदा र त्यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले यही अवसरमा फुड फेस्टिबलको समेत आयोजना गरेको छ । रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैंडाचोकसम्मको ६ सय मिटर सडक किनारमा विभिन्न परिकारका स्टल राखिएका छन् । शनिबार र आईतबार (आज) फेस्टिबल जारी रहने छ । फेस्टिबलकै अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् ।
यस्तै ती जातीहरुले सांस्कृतिक प्रदर्शनी समेत प्रस्तुत गरिरहेका छन् । गिरीका अनुसार आज मात्रै ब्राम्हणसहित विभिन्न जातिका नौ वटा जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिदै छ । थारु, तामाङ, कुमाल, मगर, नेवार लगायतका जातिले आआफ्ना संस्कृति झल्कने प्रस्तुती देखाउने छन् । गिरीले भन्नुभयो “अन्य व्यवसायी पनि उत्साहित भएका छन् ।” सबैले यस्ता कार्यक्रम हरेक शुक्रबार गर्न सुझाएको उहाँले बताउनुभयो । स्वीकृति पाएमा रेवानले हरेक हप्ता कार्यक्रम गर्ने उहाँको भनाई थियो ।
क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार सौराहाका सबै होटल भरिएका थिए । देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पारिवारिक र जोडी घुम्न आएका छन् । समूहगत रुपमा घुम्न आउनेहरुको संख्या पनि राम्रो रहेको उहाँको भनाई छ । संघका अध्यक्ष दीपक भट्टराईले आज पनि सौराहाका सबै होटल भरिने अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “लगातार विदा र त्यसपछि परेको प्रणय दिवसले सौराहा भरिएको छ ।”
अंग्रेजी नयाँ वर्षको दिनपछि शनिबार सबैभन्दा बढी पर्यटक सौराहा आएको उहाँको भनाई छ । पर्यटकको संख्या बढेसँगै अन्य पर्यटकीय गतिविधि पनि चलायमान भएको छ । हात्ती सफारी, डुंगा सयर, जीप सफारी, थारु सांस्कृतिक प्रदर्शनीसँगै अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको छ । राती अबेरसम्म सौराहाका राप्ती नदी किनारका रेष्टुरेष्टमा पर्यटक रमाउँने गरेका छन् ।
सौराहामा ५ हजार ५ सय जना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता रहेको छ । यहाँ १ सय २० वटा होटल र करिब १ सय वटा रेष्टुरेन्टहरु सञ्चालनमा छन् । मुख्य रुपमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । विशेष पर्वहरुमा भने सौराहा घुम्नका लागि मात्रै पनि पर्यटक आउने गर्दछन् । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो ।