काठमाडौंः संसद् विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । गत १८ गते रिटका पक्षधरको बहस सकिएपछि रिटको विपक्षमा बहस गर्ने सरकारी वकिलहरुले १९ माघदेखि बहस थालेका थिए । सुरुमा महान्यायाधिवक्ताले लामो सयम लिएर बहस गरेपछि बहस लम्बिने चर्चा सुरु भएको थियो ।

आजदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारी पक्षलाई बहसका लागि १५ मिनेटको समय तोकिदिनुभएको छ । बहसको सुरुवातमै प्रधानन्यायाधीशले स्मरण गराएपछि त्यहीअनुरुप हुने गरी बहस अघि बढेको छ ।

संसद् विघटन गैरसंवैधानिक भएको दाबीसहित १३ वटा रिट दायर भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
संसद् विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट झन्डै ७० जनाले बहस गरेका थिए ।

सह–न्यायाधिवक्ता श्याम भट्टराईको बहस जारी छ । उहाँले प्रधानमन्त्रीको विघटनको अधिकार र संसदीय अभ्यास, नेपालको विगतको अभ्यास कस्तो छ? भन्नेबारे तर्क राखिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !