
चितवनः जिल्लामा पहिलो चरणको कोरोना विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा ६ हजार ९ सय ४० जना सहभागी भएका छन् ।
यही माघ १३ गते देखि सुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ । शनिबार सम्ममा भरतपुर अस्पतालको केन्द्रबाट ३ हजार ७ सय २९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । त्यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४ सय जनाले, वघौडा अस्पताल माडीबाट ८९ जना, चितवन मेडिकल कलेजबाट १ हजार ४० जना, कलेज अफ मेडीकल साइन्सेजबाट ८ सय ८ जना, वृद्धाआश्रमबाट १सय ८९ जना र कारागार कार्यालय चितवनबाट ६ सय ८३ जनाले खोप लगाएका हुन् ।
खोप सुरु भएको पहिलो दिन २ सय ७९ जनाले खोप लगाएका थिए । यो संख्या बढेर एकैदिन खोप लगाउने १ हजार २ सय ५७ जना सम्म पुगेको थियो । जिल्लालाई दिइएको लक्ष्यमा ९१ दशमलव ५ प्रतिशत सफलता पाएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनुभयो ।
खोप लगाई सके पछि ८ जनामा सामान्य प्रतिक्रिया देखिएको भए पनि त्यस्तो अप्रिय घटना हुन नपाएको उहाँको भनाई छ । खोप लगाएका मध्ये ४ जनालाई डावर उठ्ने र चार जनालाई ज्वरो आएको भरतपुर अस्पतालका प्रबक्ता डा. युवानिधि वसौलाले जानकारी दिनुभयो ।