चितवनः सौराहा फुड फेष्टिवल फागुन १ गते देखि ३ गते सम्म हुने भएको छ । कोभिड–१९ का कारण यस वर्षको फुड फेष्टिवल खुल्ला चौरमा नभई सडकमा गरिदैं छ ।

रेष्टुरेन्ट एण्ड वार एसोसिएशन (रेवान) सौराहाको आयोजनामा कार्यक्रम हुँदै छ । संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले सौराहाको गैंडाचोक देखि हात्ती चोक सम्म सडकमा फेष्टिवल गर्न लागिएको वताउनुभयो । यो १५ औं फेष्टिवल हो । यस अघिका वर्षहरुमा सिसुवार खेल मैदानमा साँस्कृतिक कार्यक्रम सहित फुडफेष्टिवल हुने गर्दथ्यो । यस वर्ष भने दैनिक बिभिन्न जातीका झाँकी सहीत फुडफेष्टिवल गरिदैं छ ।

खतिवडाले थारु, मगर, चेपाङ, कुमाल, तामाङ लगाएतका जातजातीका झाँकी संगै पञ्चेबाजा, खैचडी प्रस्तुतीकरणका लागि गृहकार्य भईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “साँझ ५ वजे पछि दैनिक ७÷८ वटा जातीका झाँकी प्रदर्शनका लागि गृहकार्य गरिरहेका छौ ।”कोरोना कहरका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै भिडभाड कम गरेर सौराहा खुलेको छ भन्ने सन्देश प्रबाह गर्ने गरि फेष्टिवल गरिने उहाँको भनाई छ ।

फेष्टिवलमा नयाँ र स्वादीला खाना तयार गर्न अनुरोध गरिदैं छ । कोरोना सङ्क्रमण कम हुँदै गए पछि सौराहामा पर्यटकको चहलपहल वढेको छ । विदाका दिनमा होटलहरु आन्तरिक पर्यटकले आधाभन्दा वढि भरिने गरेका छन् भने अन्य दिनमा पनि पर्यटकको संख्या वढ्दो रहेको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनुभयो ।

आन्तरिक रुपमा वजारीकरणमा सौराहाका व्यवसायी जुटेका छन् । उनीहरुले गत महिना पूर्बी नेपालमा घुमौं सौराहा अभियान लिएर पुगेका थिए । अभियानका संयोजक सुमन घिमिरेले फरक ढङ्गबाट नियमित प्रचार प्रसार गरेर सौराहाको व्यवसायलाई पूर्बबत अबस्थामा फर्काउन आँफुहरु लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो “फुड फेष्टिवलले पनि सौराहाको पर्यटन प्रबर्धनमा टेवा पुग्छ ।” चितवन नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र बिभिन्न जातीका संस्कृति हेर्न आउने गर्दछन् । दुर्लभ एक सिंगे गैंडा, पाटेबाघ लगाएतका जनावार आन्तरिक र वाह्य पर्यटकका लागि आकर्षणका केन्द्र वन्ने गर्दछन् ।

सन २०२१मा ठूलो संख्यामा आन्तरिक पर्यटक भित्रने र सन २०२२ संगै आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्य रुपमा वढ्ने व्यवसायीको अपेक्षा रहेको छ । निकुञ्जको मुख्य प्रबेशद्धार सौराहामा एक सय २० वटा होटल र एक सय हाराहारी रेष्टुरेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !