
चितवनः चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिंगे गैंडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रीत भएका गैंडा विस्तारै भारततर्फ जान थालेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षात्मा दुई वटा गैंडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैंडा भारतको वाल्मीकीकि टाईगर रिजर्बमा पुगेका छन् ।
बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताउनुभयो । उहाँका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैंडा रहेका छन् । उहाँले भन्नुभयो “पश्चिमी क्षेत्रका गैंडालाई निकुञ्जको पूर्वी भागमा स्थानान्तरण गरिएन भने भारततर्फ जाने खतरा बढेर गयो ।”
नेपालमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका अधिकांश घडियाल गोही भारत जाने गर्दछन् । यसैगरी यहाँका गैंडा भारततर्फ जाने खतरा बढेको उहाँको भनाई छ । बि.सं. २०७४ सालमा आएको बाढीले निकुञ्जबा ठूलो संख्यामा बगाएर गैंडा भारत पु¥याएको छ । उक्त समयमा भारतीय पक्षसँग समन्वय गरेर ११ वटा गैंडा उद्धार गरी ल्याईएको भए पनि पछिल्लो समय भारतले ल्याउन नदिएपछि अझै त्यहाँ गैंडा रहेका छन् ।
निकुञ्जको पूर्वी क्षेत्रमा गैंडाको बासस्थान राम्रो हुन नसक्दा गैंडा पश्चिम क्षेत्रमा केन्द्रीत हुँदै गएका हुन् । निकुञ्जले विगतका वर्षहरुदेखि नै गैंडा पश्चिमबाट पूर्वमा ल्याउने जनाउँदै आएको भए पनि ठोस काम हुन सकेको छैन । बराल अब गैंडा पूर्व ल्याउनै पर्ने बताउनुहुन्छ । निकुञ्जभित्रको बासस्थान थप व्यवस्थित गरेर गैंडा स्थानान्तरण नगरे क्रमशः भारततर्फ जाने उहाँको भनाई छ । उहाँले थप्नुभयो “आन्तरिक रुपमा निकुञ्जभित्र बासस्थानको व्यवस्थापनमा अरु बढी जुट्नु पर्ने देखिएको छ ।”
निकुञ्जको पश्चिमी क्षेत्रमा एकै ठाउँमा धेरै गैंडा हुँदा खानाको अभाव हुने, एकआपसमा जुधेर मर्ने समस्या पनि देखिएको छ । पोथीसँगको प्रजनन्को समयमा भाले गैंडाहरु एकआपसमा जुध्ने गर्दछ ।
निकुञ्ज भारतीय सीमा क्षेत्रमा पर्दछ । भारततर्फ वाल्मीकि टाईगर रिजर्व छ । यहाँका पाटेबाघ लगायतका अन्य वन्यजन्तु पनि भारत जाने आउने गर्दछन् ।
दुर्लभ एक सिंगे गैंडा संरक्षणमा राज्य र दातृ निकायले ठूलो लगानी गरेको भए पनि भारततर्फ जाने समस्याबारे हालसम्म कुनै ठोस काम हुन सकेको छैन । नेपालका निकुञ्जहरुमा गत वर्ष गैंडा गणना गर्ने भनिए पनि कोरोना प्रभावदेखिएसँगै रोकिएको छ । यस वर्ष गैंडा गर्ने तयारी भईरहेको छ । सन् २०१५ को गणनामा नेपालमा ६४५ गैंडा रहेकोमा यहाँ ६०५ गैंडा रहेका थिए ।