चितवनः कोरोना भाईरस (कोभिड १९) का कारण देशभरका ४० प्रतिशत ईट्टा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै ईट्टाको माग घट्दा व्यवसायीहरु उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् ।

नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार ईट्टा उद्योगीहरुले कोभिडकै कारण अरबौं रकम गुमाएको बताउनुहुन्छ । गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै ईट्टा नोक्सान भएको थियो । ईट्टा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको उहाँको भनाई छ ।

चित्रकारले भन्नुभयो “४० प्रतिशत उद्योग अहिले पनि बन्द छन् । चलेका उद्योगपनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।” उद्योगीहरुको भट्टामा ईट्टा नभएको, उठ्नु पर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उहाँले गुनासो गर्नुभयो ।

ईट्टा उद्योगहरु आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनु पर्ने बाध्यता छ । गत वर्षहरुको तथ्यांकलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । चित्रकारले भन्नुभयो “यस क्षेत्रका तीन लाख मध्ये दुई लाख भारतीय मजदुर हुने गरेका थिए ।” उद्योगीहरुले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पूँजीको अभाव भएको उहाँको भनाई छ ।

भारतीय मजदुरहरु आउन चाहेका छैनन् भने ल्याउने अवस्था पनि कठिन भएको उहाँ बताउनुहुन्छ । ईट्टा उत्पादन गरेर पनि थन्क्याएर राख्नुपर्ने अर्काे बाध्यता रहेको चित्रकार बताउनुहुन्छ ।

महासंघका प्रथम उपाध्यक्ष नारायण सापकोटा बजारमा ईट्टाको माग नै कम हुँदा समस्या आएको बताउनुहुन्छ । मौसममा भरपर्नु पर्ने भएकाले यो व्यवसाय जोखिमपूर्ण भएको भन्दै उहाँले भन्नुभयो “कोभिडका कारण धेरै उद्योग पुनः सञ्चालन हुने अवस्थामा छैनन् ।”

नेपालमा वार्षिक ३ अर्ब वटा ईट्टा उत्पादन हुने संघको तथ्यांक छ । देशभरमा एक हजार ८ सय उद्योग रहेका छन् । सापकोटाको भनाईमा नयाँ ऋणिले सस्तो व्याजमा ऋण पाए पनि पुरानाले महंगो तिरिरहनु पर्दा नोक्सान बढ्दो छ । उद्योग नचलेपनि जग्गा भाडा र कर्मचारी पाल्नुपर्ने बाध्यता उद्योगहरुसँग रहेको छ । उहाँले भन्नुभयो “जग्गा बेचेर ऋण तिर्नुपर्ने बाध्यतामा उद्योगहरु छन् ।”

उद्योग सञ्चालन गर्न रु.दुई करोडदेखि १५ करोडसम्म लगानी गर्ने गरेको व्यवसायीको भनाई छ । स्थानीय तहहरुले माटो ल्याउन समस्या खडा गर्ने, अनावश्यक कर लगाउने, स्थानीयहरुले प्रदुषणको नाममा अनावश्यक दुःख दिने गरेका कारण पनि यो व्यवसाय प्रभावित भएको सापकोटा बताउनुहुन्छ ।

पछिल्ला वर्षहरुमा प्रदुषणरहित चिम्नीहरु निर्माण गरी ईट्टा उत्पादन गरिंदै आएको छ । कोभिडले दाङभन्दा पश्चिम क्षेत्रमा कम प्रभाव पारेको भए पनि देशका अन्य क्षेत्र पूर्ण रुपमा प्रभावित भएको व्यवसायीहरु बताउँछन् ।

चितवनको खैरहनीमा रहेको खनाल ईट्टा उद्योगका सञ्चालक ईश्वरी पण्डित जिल्लाका १८ उद्योगमध्ये दुई वटा मात्रै जेनतेन सञ्चालनमा आएको बताउनुहुन्छ । उहाँले चैत ११ गते यता उद्योग सञ्चालन गर्न नसकेको गुनासो गर्नुभयो । उद्योग पूर्णरुपमा नोक्सानमा गएको भन्दै उहाँले मजदुरका समस्या समाधान र पुनः सञ्चालनका लागि सुलभ ऋणको व्यवस्था हुनुपर्ने बताउनुभयो । पण्डितले भन्नुभयो “सरकारले हेरेन भने आत्मनिर्भर यो व्यवसाय संकटमा पर्छ ।”

स्वदेशमा उत्पादन हुने भएकाले देशको ठूलो धनराशी विदेशीनबाट बचेको भन्दै उहाँले सरकारी सहयोग भएमा निर्यात समेत गर्न सकिने बताउनुभयो । विगतका वर्षहरुमा भारतीय सीमा क्षेत्रमा नेपालबाट ईट्टा जाने गरेको उहाँले स्मरण गराउनुभयो । नेपाली ईट्टा उच्च गुणस्तरको हुने गर्दछ । पछिल्ला वर्षहरुमा ईट्टाको विकल्पमा विभिन्न उत्पादनहरु बजारमा आउन थालेपछि निर्माण क्षेत्रमा यसको प्रयोग समेत घट्दै गएको हो ।

महासंघले प्रदुषण र लागत घटाएर ईट्टा उत्पादनका लागि पहल गरिरहेको छ । नेपालका ३३ जिल्लाका व्यवसायी संगठित छन् । हालसम्मको तथ्यांकलाई हेर्दा रौतहटमा सबैभन्दा बढी १६० वटा उद्योग छन् ।

प्रतिक्रिया दिनुहोस !