चितवनः सरकारले निर्वाचनको मिति तोके संगै जिल्ला तहमा समेत निर्वाचनको तयारी तिव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिकको काम सुरु गरेको छ ।

कार्यालयले आईतबार यहाँका राजनैतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधि संगको अन्तरक्रिया कार्यक्रममा अध्यावधिकको काम सुरु भएको जनाएको छ । मतदाता नामावली अध्यावधिक गर्नका लागि सातै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ १५ देखि २१ गते सम्म नामावलीमा अध्यावधिकको काम गरिने छ । यसका लागि कर्मचारीलाई तालिम दिइ सकीएको छ । जिल्लामा पुष ५ गते सम्म १८ वर्ष पुगेका ३ लाख ६८ हजार ७ सय ४९ जनाको नाम दर्ता भएको छ । ती नामको अध्यावधिक गर्न राजनैतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको छ ।

वि. सं. २०७४ सालको मतदाताको संख्यामा अहिले १४ हजार ७ सय १४ जना मतदाता थपिएको अधिकारीले जनाकारी दिनुभयो । सो निर्वाचनमा ३ लाख ५४ हजार ३५ मतदाता रहेका थिए । थपिएका मतदाताको नामावली अध्यावधिकको कामका लागि सबैले सहयोग गर्न आबश्यक रहेको अधिकारीको भनाई छ । अध्यावधिकका क्रममा नाम दोहोरीएको, मृत्यु भएको र नामावलीमा त्रुटी भएको सच्याईने छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सचिब उत्तम जोशी, राष्ट्रिय जनता पार्टीका प्रेम कुमार श्रेष्ठ, नेकपा मालेका पार्वती महतो, राष्ट्रिय जनमोर्चाका डम्बर पुरी लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !