चितवनः रत्ननगर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर विकास पूर्वाधारका काम अघि बढाएको छ । हालसम्म ५५ बिघा जग्गा फिर्ता भईसकेको छ भने ती ठाउँहरुमा विकास निर्माणका काम अघि बढेका छन् ।

नगर प्रमुख नारायण वनका अनुसार भूमाफियाले कब्जा गरेको र स्थानीय समुदायले भोगचलन गर्दै आएको ऐलानी तथा सार्वजनिक जग्गा नगरपालिकाले फिर्ता गरेको हो । माफियाको हातबाट फिर्ता गरी संरक्षण गरेको सार्वजनिक जग्गामा स्थानीय तथा केन्द्र सरकारले विकासका पूर्वाधार निर्माण सुरू गरेको उहाँले जानकारी दिनुभयो ।

यसबीचमा नगरपालिकाले वडा नं–१६ मा कुँवर टोल र रायमाझी टोलमा ९ बिघा, सोही वडाको अन्य स्थानमा ५ बिघा, वडा नं–७ मा बूढीराप्ती खोला र बद्रहनीआसपासमा १२ बिघा, वडा नं–९ र १० अन्तर्गत पर्ने खगेरी पुलआसपासको क्षेत्रमा ५ बिघा, वडा नं–८ अन्तर्गत बूढीराप्तीको किनार र मनहरा फुटबल मैदान गरी पाँच बिघा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न सफल भएको छ ।

त्यसैगरी, वडा नं–९ कै लालपर्सा खगेरी सिमानामा ५ बिघा, वडा नं–१५ को बूढीकुलो कालिका नगरपालिकाको सिमानामा २ बिघा, वडा नं–४ को देवौली बगैँचाटोलमा एक बिघा, वडा नं–२ मा विभिन्न ठाउँमा गरी ७ कट्ठा, वडा नं–१ र ३ मा १०÷१० कट्ठा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न सफल भएको छ ।

वडा नं–१६ मा संरक्षण गरिएको जग्गामा तारबार गरी फनपार्क, वडा नं–७ मा संरक्षण गरिएको जग्गामा सौराहा सभाहल, वडा नं–९ मा संरक्षण गरिएको जग्गामा इको कल्चर भिलेन र पशु हाटबजार निर्माणको काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो । त्यसैगरी, वडा नं–८ मा संरक्षण गरिएको जग्गामा फुटबल मैदान, वडा नं–४ मा संरक्षण गरिएको जग्गामा सभाहल र कर्भड हल, वडा नं–२ मा संरक्षण गरिएको जग्गामा बसपार्क र वडा नं–३ मा संरक्षण गरिएको जग्गामा बाल उद्यान तथा कर्भड हल निर्माण गरिएको छ ।

नगर प्रमुख वनले भन्नुभयो “सार्वजनिक जग्गा संरक्षणका क्रममा हामीले मुद्दा समेत खेप्दै आएका छौं । जग्गा खण्डीकरण गरेर किनबेच गर्ने भूमाफियाहरुले समेत सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ ।” नगरपालिकाले भूमाफियादेखि पूर्वमन्त्रीसम्मले अतिक्रमण गरेको सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको उहाँले बताउनुभयो । ऐलानी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान नरोकिने उहाँले जानकारी दिनुभयो ।

जग्गा संरक्षण गर्नेक्रममा नगरपालिकाको विरूद्ध जिल्ला अदालत हुँदै पुनरावेदन अदालतमा मुद्दा परेको थियो । नगरपालिका र प्रमुख वनविरूद्ध परेको मुद्दामा जीत हासिल गर्दै क्रमिकरुपमा सार्वजनिक जग्गा संरक्षणको कामलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस !