चितवनः चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मंसिर २५ गते देखि शुरु गरिएको छ । यस अबधिमा १६ जना पक्राउ परेका छन् ।

दुई जना अखेटो पहार सहित, एक जना फरार र १३ जना रातको समयमा माछा मार्ने प्रयोजन देखाएर बसेकाहरु पक्राउ परेका हुन । महाहन्टका लागि विशेष फौज वाहिनीबाट यहाँ खटिएको छ । निकुञ्ज सुरक्षार्थ नेपाली सेना सहित एक हजार हाराहारी सुरक्षा कर्मी परिचालन गरिएको बटुकदल गणका गणपती अरुण श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्जको सुरक्षा नेपाली सेनाको बटुकदल गणले गर्दै आएको छ । श्रेष्ठका अनुसार विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालिम दिएर अप्रेसन महाहन्ट शुरु गरिएको हो ।

नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने उहाँले बताउनुभयो । महाहन्टका क्रममा चारवटा कुकुर र पाँचवटा ड्रोन समेत परिचालन गरिएको छ । हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डुङ्गा गस्ती समेत गरिदै आएको छ ।

हाल भएका पोष्टका अतिरिक्त अन्य ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षाद् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जंगल उजाड हुने, खरखडाइ खुल्दा मानिसको आवतजावत बढ्ने, खोला घटेर सहजै मानिस वारपार गर्न सक्ने हुनाले यो समयलाई चोरी–शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केही वर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले वि.सं.२०६७ सालबाट अप्रेसन हन्ट सञ्चालन गर्दै आएकामा वि. सं.२०७१ सालबाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ । पुस महिनाबाट वर्षाद् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।

विगतको अवस्थालाई हेर्दा मंसिरदेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी–शिकार हुने गरेको पाइएको छ । चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी–शिकारी भएको तथ्यांकले देखाएको छ । यसैलाई मध्यनगर गरी खोलानाला घटेकोले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जंगल सफा भएको समय पारेर चोरी शिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

महाहन्ट सञ्चालन अघि पनि निकुञ्ज सुरक्षार्थ नियमित गस्ती हुँदै आएको छ । जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुंगा गस्ती पर्दछन् । ‘रियल टाइम पेट्रोल मनिटरिङ’ प्रणालीबाट गस्ती टोलीले गस्ती गरेको ठाउँ र दूरी हेर्न सकिन्छ ।

यसै प्रणाली अन्तर्गत निकुञ्जका पाँचवटा सेक्टरमा रहेका गुल्मपतिले समेत अनुगमन गर्ने गरेका छन् । निकुञ्जको अमलटारी, बबई, मेघौली, सौराहा र खगेन्द्रमल्लीमा सेनाका गुल्म रहेका छन् । ती गुल्ममा एक एक वटा ड्रोन राखेर निरिक्षण गरिदैं आएको छ ।

बरालले पछिल्लो समय समुदायलाई समेत समेटेर महाहन्ट सञ्चालन गरिएको भन्दै यसले निकुञ्ज र समुदायबीचको सम्बन्ध अझै नजिक हुने बताउनुभयो । निकुञ्जमा हाल ५१ ठाउँमा स्थायी पोष्ट रहेकामा महाहन्टका समयमा १२० भन्दा बढी ठाउँमा अस्थायी पोष्टकै रुपमा सुरक्षाकर्मी र कर्मचारी रहेर निकुञ्जको गस्ती गरिएको छ । वराल महाहन्टको समयमा अनुभव प्राप्त नेपाली सेना समेत परिचालन हुने हुँदा निकुञ्जका संङ्कास्पद सबै क्षेत्रमा पुगेर निगरानी गरिने बताउनुहुन्छ ।

साउन यता मात्र चोरी शिकारीका कारण मरेका चार वटा गैंडा फेला परेका छन् । बिगत लामो समय देखि शून्य चोरीशिकार रहेको यस निकुञ्जमा यस वर्ष पुनः चोरी शिकारी वढेको हो । यस संगै निकुञ्ज सुरक्षामा नयाँ रणनिति अपनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !