चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा बनाइएको आइसोलेसन खाली भएको छ । सङ्क्रमितको संख्या घटेपछि आइसोलेसन खालि भएको हो ।

चिकित्सालयका कार्यकारी निर्देशक डा. हेमराज कोइरालाका अनुसार वन क्षेत्रमा आइसोलेसन रहेकाले थोरै संख्यामा सङ्क्रमित बस्न डराउँछन् । पुस ८ गते एकैसाथ १५ जना कोरोना मुक्त भए पछि बाँकी रहेका ३ जना होम आइसोलेसनमा बस्न गए संगै चिकित्सालयको आइसोलेसन खालि भएको हो । उहाँले भन्नुभयो “आइसोलेसन वन्द गरेका छैनौ । खाली भएको हो ।”

गएको भदौ १४ गतेबाट सुरु गरिएको आइसोलेसनमा हाल सम्म ४ सय १२ जनाले सेवा लिइ सकेका छन् । एकै साथ ठूलो संख्यामा सङ्क्रमित आएमा राख्न मिल्ने गरि तयारी अबस्थामा आइसोलेसन राखिएको छ । हाल देखिएका सङ्क्रमित भरतपुर अस्पतालको आइसोलेसन र होम आइसोलेसनमा बस्दै आएका छन् । जिल्लामा सङ्क्रमित थपिने दर पनि निकै कम भएको छ ।

भरतपुर महानगरपालिकाले चिकित्सालय संग सहकार्य गरेर यो आइसोलेसन सञ्चालन गरेको हो । आइसोलेसनको सम्पूर्ण खर्च महानगरपालिकाले गरेको थियो । व्यवस्थापन चिकित्सालयले गर्दै आएको हो ।

९० जना बस्न सक्ने गरी बनाइएको उक्त आइसोलेसनमा कुनै समय खाली ठाउँ नभएर बिरामीलाई फिर्ता पठाउनु पर्ने अवस्था आएको थियो । डा. कोइरालाका अनुसार सङ्क्रमितलाई आवधिक उपवास विधिबाट उपचार गरिएको थियो । यस विधिमा आठ घण्टा खाने र १६ घण्टा भोकै राखेर उपचार गर्ने गरिन्छ । जसका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्मको समयमा ठोस पदार्थ खान दिइएको थिइएन । यस्तै नियमित व्यायम, योग गराइनुका साथै खानपिनमा पनि ध्यान दिइएको थियो ।

सो आइसोलेसनमा ८ महिना देखि ८५ वर्ष सम्मका सङ्क्रमितले सेवा लिएका थिए । आइसोलेसनमा आएका सङ्क्रमितहरु ७ दिन देखि २१ दिन सम्म उपचारका लागि बस्ने गरेका कोइरालाको भनाई छ । सामान्य लक्ष्यण देखिएकालाई समेत आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

जिल्लामा हालसम्म ६ हजार ३ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ३८ हजार जनाको स्वाव परीक्षण गरिएको छ । १ सय १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने ५ हजार ९ सय २० जना निको भएका छन् । हाल २ सय ९१ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये २ सय ६४ जना होम आइसोलेसनमा रहेका छन्, भने २७ जना विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये भरतपुर महानगरका २ सय ३५ जना छन् ।

प्रतिक्रिया दिनुहोस !