चितवनः वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक उपकरणहरु भित्रिएका छन् । बिरामीको उपचारमा सघाउने ती उपकरण भित्रिएसँगै सेवा प्रभावकारी हुने देखिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार आधुनिक माईक्रोस्कोप, ईबस र लेजर सर्जरी उपकरण भित्रिएका हुन । उहाँका अनुसार आधुनिक माईक्रोस्कोपले आँखाले देख्न नसक्ने सानाभन्दा साना शल्यक्रिया गर्न सहज हुनेछ । केही दिनअघिबाट सञ्चालनमा आएको यो उपकरण रु. १ करोड ५० लाखमा खरिद गरिएको हो ।
यसैगरी ईबसले मुखबाट पाईप हालेर शरीरको भित्रि भागलाई हेर्न मिल्छ । उहाँका अनुसार यसले अल्टासाउण्ड समेत काम गर्दछ । शरीरका भित्री भागको फोटो खिचेर देखाउने हुँदा उपचारमा सहज हुने गौतमको भनाई छ । रु.३ करोडको लागतमा उक्त उपकरण खरिद गरी जडान गरिएको हो ।
लेजर सर्जरीले शरीरको बाहिरी भाग नचिरेर नै शल्यक्रिया गर्न सकिन्छ । गौतमका अनुसार यसले भित्री भागमा तोकिएको ठाउँमा गएर रेमार्फत् अनावश्यक वस्तु काट्न मिल्छ । मुख्य रुपमा घाँटीको स्वरयन्त्रको क्यान्सर उपचारमा यो प्रविधि प्रभावकारी हुने उहाँले बताउनुभयो । रु.३ करोडमा खरिद गरी जडान गरिएको यो उपकरण केही दिनमै सञ्चालनमा आउँदै छ । लेजर सर्जरीको प्रयोग गरी शल्यक्रिया गरेका बिरामी अस्पतालमा लामो समय बस्नु पर्दैन । बाहिरी घाउ नहुने भएकाले छिटो निको हुने डा. गौतमको भनाई छ । यसबाट वर्षेनी ५० जनाभन्दा बढी प्रत्यक्ष लाभात्वित हुने अस्पतालले जनाएको छ ।
उपकरणको अभावमा बिरामी उपचारका लागि भारत जानु पर्ने बाध्यता थियो । यस्तै अस्पतालले विद्युतीय प्रविधिबाट भुक्तानी सेवा शुरु गरेको छ । व्यवस्थित काउन्टर बनाएर भुक्तानीका लागि लामो समय लाईनमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको गौतमले जानकारी दिनुभयो । जसले गर्दा बिरामी र आफन्त लाभान्वित भएका छन् ।
अस्पतालले पछिल्लो समय आकस्मिक कक्ष व्यवस्थित बनाएको जनाएको छ । कोरोना संक्रमणका कारण बिरामीको संख्या केही घटेको भएपछि पछिल्ला दिनहरुमा पूर्ववत् अवस्थामा बिरामी आउन थालेका छन् । विगतमा बिरामीले व्यहोर्नु परेका झन्झटमुक्त गराएर गुणस्तरीय उपचारका लागि आफू लागि परेको गौतमले बताउनुभयो ।
अस्पतालमा गत वर्ष एक लाख ४५ हजार ७७६ जनाले सेवा लिएका थिए । यहाँ नेपाल र छिमेकी देश भारतबाट क्यान्सरको उपचार गर्न बिरामीहरु आउने गर्दछन् ।







