चितवनः चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा अन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको छ । अत्याधुनिक स्प्याक्टसिटी ९क्एभ्ऋत्रऋत्० मेसिन भित्रिएसँगै न्यूक्लियर सेवा शुरु भएको हो ।
कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको दावी गरेको छ । अमेरिका, बेलायत र क्यानडाजस्ता देशमा समेत सर्वसुलभ रुपमा उपलब्ध नहुने यो प्रविधि आफूले भित्र्याएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले दावी गर्नुभयो ।
यस उपकरण जडानसँगै धेरै बिरामीले उपचार लिने काठमाण्डौं उपत्यका सहित देशैभरबाट बिरामी आउने उहाँको भनाई छ । अस्पतालले उपकरण र जडान गरी करिब रु.१४ करोड खर्च गरेर सेवा सञ्चालनमा ल्याएको न्यौपानेले जानकारी दिनुभयो ।
अस्पतालका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा.जीवन पौडेलका अनुसार यस सेवा सुरु भएसँगै मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मिर्गाैला, कलेजो, हड्डीका साथसाथै शरीरका प्रायः सबै अंगको गहन जाँच सम्भव हुन्छ । चिकित्सा शास्त्रका प्रायः सबै विभागका बिरामीहरु यसबाट लाभान्वित हुने उहाँको भनाई छ । पौडेलले भन्नुभयो “अबको समयमा थाइराइड क्यान्सर लगायत थाइराइडको जुनसुकै समस्याको चितवन मेडिकल कलेजबाट सफल उपचार हुनेछ । थाइराइडका गलगाँडको बिना अपरेशन सफल र स्थापित उपचार हुन्छ ।”
यस सेवा अन्तर्गत सानो मात्रामा रेडियोधर्मी औषधि बिरामीको नशाबाट दिएर त्यसबाट निष्कने गामा विकिरणलाई स्प्याक्ट सिटी ९क्एभ्ऋत्रऋत्० को माध्यमबाट जाँच हुन्छ । जसबाट शरीरका विभिन्न अंगहरुको गहन जाँच सम्भव हुने डा. पौडेलको भनाई छ । थाइराइडका क्यान्सरको समेत पूर्णरुपमा सफल उपचार हुने उहाँले दावी गर्नुभयो ।
न्यूक्लियर मेडिसिन (नाभकिए चिकित्सा) मा विद्यावारिधि गर्नुभएका डा.अरुण गुप्ताले यस उपकरण जडानसँगै भारतबाट पनि बिरामी यहाँ आउने बताउनुभयो । उहाँले भन्नुभयो “भारतमा पनि बल्ल यो उपकरण भित्रिने चरणमा रहेको छ ।”
कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले न्युक्लियर मेडिसिन (नाभकिय चिकित्सा) सुरु भएसँगै अस्पतालमा थाइराइडको कम्प्रेहेन्सिभ थाईराईड केयर क्लिनिक सञ्चालन गर्न लागिएको बताउनुभयो । जसमा न्युक्लियर फिजिसियन, शल्यक्रिया गर्ने चिकित्सक र इन्डोक्राइनोलोजिष्टको टोलीले थाइराइडको क्यान्सर लगायत जुनसुकै समस्याको सफल उपचार गर्ने उहाँको भनाई छ ।
वार्षिक चार लाख हाराहारी बिरामीको उपचार गर्दै आएको यस मेडिकल कलेजले आकस्मिक सेवासँगै सिटीस्क्यान, एमआरआई, क्याथल्याब सहितको विशिष्ट सेवा दिईदै आएको छ । यहाँ नेपालभर र भारतबाट पनि बिरामीहरु उपचारका लागि आउने गरेको देवकोटाले जानकारी दिनुभयो ।