चितवनः दर्ता नगरी सञ्चालन भएको भरतपुरको चितवन मुटु अस्पताल बन्द गर्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय चितवनले निर्देशन दिएको छ । सो अस्पताल दर्ता नगरी सञ्चालन भएको भन्ने समाचार क्लिक खवरमा शुक्रबार विहान प्रकाशित भएपछि प्रशासनको ध्यानाकर्षण भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले समाचार हेरेपछि स्वास्थ्य कार्यालय चितवनलाई तत्काल बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले अस्पताल दर्ता भई नसकेकाले सेवा सञ्चालन नगर्न निर्देशन दिईएको बताउनुभयो । उहाँका अनुसार अस्पताललाई तत्काल बन्द गर्न लगाई स्पष्टीकरण सोधिएको छ । तीन दिन भित्र लिखित स्पष्टीकरण दिन भनिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर कारवाही प्रक्रिया अगाडि बढाएको हो । सो अस्पतालले दर्ताको प्रक्रिया अगाडि बढाएको भए पनि बल मिच्याई गरेर बिरामी उपचार गर्दै आएको थियो । मंसिर पहिलो साताबाट बिरामी उपचार गर्दै आएको सो अस्पतालले शुरुमा मुटु रोगको विशेषज्ञ अस्पताल बनाउने भनि प्रचार गरेको भए पनि अहिले २५ शैयाको जनरल अस्पताल सञ्चालनको लागि अनुमती माग गरेको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा उक्त अस्पतालको अनुमति प्रक्रियामा रहेको छ ।

अस्पतालका अध्यक्ष डा.शंकर लौडारीले दर्ताको प्रक्रियामा रहेको र मौखिक रुपमा सञ्चालनको अनुमति पाएपछि अस्पताल सञ्चालनमा आएको स्वीकार्नुभयो । उहाँले सबै सेवा सञ्चालन गरी नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !