
चितवन, ३ पुस । सरकारको आधिकारिक निकायबाट दर्ता नै नगरी यहाँ चितवन मुटु अस्पतालका नामबाट अस्पताल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. १० जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि हाल सञ्चालनमा आएको अस्पतालले सञ्चालनको अनुमति पाएको छैन ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका बरिष्ठ स्वास्थ्य प्रशासक अर्जुन सापकोटाले सो अस्पताल दर्ताको प्रक्रियामा रहेको तर दर्ता भई नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “उहाँहरु स्वीकृतिको चरणमा हुनुहुन्छ, अस्पताल व्यवस्थापनको काम गर्न मिल्छ, बिरामीको उपचार गर्न मिल्दैन ।”
अस्पतालमा तिहार लगत्तैदेखि आकस्मिक सहितका सेवाहरु सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालक महेश पाण्डेले मंसिरबाट सेवा सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रदेशले सञ्चालन गर्न पाईन्छ भनेपछि हामीले अस्पताल सञ्चालनमा ल्याएका हौं ।” पाण्डेले दर्ता भईसकेको दावी समेत गर्नुभयो ।
अस्पतालका सञ्चालकले मुटु अस्पतालको स्वीकृति नपाएपछि २५ शैयाको जनरल अस्पतालको स्वीकृतिका लागि माग गरेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले सो अस्पताल दर्ताको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट दर्ताका लागि सिफारिस भएको छ ।
शुक्रबार बिहान सो अस्पताल पुग्दा आकस्मिक सेवामा बिरामीको जाँच भईरहेको थियो । त्यहाँ यस अघि उपचार गरेका बिरामी पुनः परीक्षणका लागि समेत आएका थिए ।
मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारी मापदण्ड पूरा नै नगरी सेवा सञ्चालन गर्नुलाई गम्भीर लापरवाहीको रुपमा लिने गरिन्छ । केही दिन अघि मात्रै सरकारी अस्पताल वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र निजी स्तरको चितवन मेडिकल कलेजलाई कोरोना परीक्षणमा बढी शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले धरौटी लिएर मुद्दा चलाएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशिकामा एकै प्रकृतिको अस्पताल एकै ठाउँमा सञ्चालन गर्न नपाईने उल्लेख छ । तर उक्त अस्पताल चितवन मोडेल अस्पतालसँगै सञ्चालनमा ल्याईएको छ ।