चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले अबैध औषधि सहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुलाई सार्बजनीक गरेको हो ।

पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ४ का २८ वर्षिय राजकुमार महतो, वडा नम्बर ३ का ३१ वर्षिय हरिशरण चौधरी, माडी नगरपालिका वडानम्बर ३ का २२ वर्षिय बालकृष्ण महतो र मिलन महतो,मकवानपुर गढी गाउँपालीका वडा नम्बर ८ का २५ वर्षिय सुरज गौतम, वडा नम्बर ३ का २३ वर्षिय प्रकाश दाहाल, हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का २५ वर्षिय उज्वल पोख्रेल र वडा नम्बर २३ का २३ वर्षिय विपिन सापकोटा रहेका छन् । माडी नगरपालिका वडा नम्बर ९ सोमेश्वरमा ठोरीबाट माडी तर्फ ल्याउँदै गरिएको ना ४ ख ४४२५ नम्बरको गाडीबाट अबैध औषधि सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङका अनुसार बरामद भएको अ‍ैषधिको मूल्य अनुमानित रु २१ लाख १० हजार ५ सय ३२ रहेको छ । यस्तै माडीमानै वेवारीसे अबस्थामा रु ९ लाख ९५ हजार १ सय बराबरको औषधि वरामद भएको छ । वगही खोलाको किनारको झाडीमा वेवारीसे अबस्थामा औषधि भेटीएको गुरुङले जानकारी दिनुभयो ।

औषधि व्यवस्था बिभागबाट बिक्रि बितरणका लागि अनुमति नपाएका औषधिहरु लुकाएर ल्याउने गरेको पाईएको उहाँले बताउनुभयो । वाथरोग, क्याल्सियम कमि भएका र पेट सम्बन्धि समस्या भएका बिरामीहरुले प्रयोग गर्न सक्ने ती औषधि नेटवर्कीङ व्यवसायको प्रयोजनका लागि ल्याईएको हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

गैर कानुनी रुपमा औषधि नेपाल भित्र्याउने उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि औषधी व्यवस्था बिभागमा पठाईने गुरुङ्ले बताउनुभयो । अबैध कारोवारका लागि माडी ठोरी नाका प्रयोग हुँदै आएको भन्ने सूचनाका आधारमा चेकजाँचका क्रममा उनीहरुलाई मंगलबार बिहान पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !