चितवनः चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशंकामा २४९ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाईएको छ । कतिपय ठाडो जरिवाना गरेर छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकाहरु मध्ये सबैभन्दा बढी १२३ जना माछा मार्ने घटनामा संलग्न भएका हुन् । यसैगरी घाँस दाउराका ६३ जना, बालुवा गिटीका २५ जना, काठका १३ जना, गैंडा चोरीशिकारीका १ जना र अन्य वन्यजन्तु तस्करीका २३ जना रहेको उहाँले जानकारी दिनुभयो ।
साउनमा १७ जना, भदौमा १०२ जना, असोजमा २१ जना, कात्तिकमा ५४ जना र मंसिरमा ५५ जना पक्राउ परेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गैंडा तस्करीका एक जना र काठका दुई जना कारागार चलान भएका छन् । उहाँले पछिल्लो समय चोरीशिकारका घटना बढेसँगै सुरक्षामा कडाई गरिएको छ ।

पैदल, हात्ती, साईकल, डुंगा, गाडी लगायतबाट ििनकुञ्ज कर्मचारी र सेनाको संयुक्त टोलीले गस्ती गरिरहेको छ । दिन र रातको समयमा निकुञ्जका संवेदनशील क्षेत्रहरुमा गस्ती बढाईएको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष शुरु भए यता चार वटा दुर्लभ एकसिंगे गैंडा तस्करले मारेको अवस्थामा फेला परेका छन् । यससँगै सुरक्षालाई थप कडाई गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !