चितवनः कारागार कार्यालय चितवनमा रहेका कैदी वन्दी मध्ये १ सय ६२ जना कैदीवन्दी बिभिन्न रोगबाट ग्रसित रहेका छन् । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार चितवन सहित बिभिन्न जिल्लामा कैद सजाय भोग्दै आएका बिरामी कैदीवन्दीलाई यहाँ पठाउँने गर्दा बिरामीको संख्या वढेको छ ।

कार्यालयमा नवलपुर, नवलपारसी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौं लगाएतका जिल्लाबाट बिरामी कैदी तथा वन्दीहरु आउने गरेका छन् । अहिले कारागारमा उच्च रक्तचापका ७३ जना, मधुमेहका ६२ जना, थाइराईडका ११ जना, मुटुको रोगी ६ जना, एचआईभि एड्स संक्रमित ३ जना, छारे रोगका २ जना, प्यारालाईशिस (शरिरको एक अंग नचल्ने) २ जना, नसा, कुष्टरोग र क्षयरोगका १–१ जना रहेको काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँ रहेका रोगी मध्ये सबैभन्दा धेरै चितवनका रहेका छन् । जिल्लामा केन्द्रिय स्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडीकल कलेज र दुई दर्जन भन्दा वढि निजी अस्पतालहरु रहेका कारण स्वास्थ्यमा समस्या देखिए संगै कैदी वन्दीलाई यहाँ पठाउने गरिएको उहाँले बताउनुभयो । अहिले यस कार्यालयमा क्षमता भन्दा तेब्बर कैदीवन्दी रहेका छन् ।

२ सय ५५ जना पुरुषको क्षमता रहेको सो कारागारमा ६ सय ४४ जना पुरुष, २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ५५ जना महिला र दुई जना आश्रीत वालवालिका रहेका छन् । उनीहरुको स्वास्थ्य उपचारका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा रु ४८ लाख ७५ हजार खर्च गरेको थियो भने अहिले कोभिड १९ संक्रमणका कारण वजेट कटौती गरेको छ । अहिले उपचारका लागि रु २२ लाख बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !