
चितवनः नेपालमा एकै दिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलन्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलन्यास गर्नुभयो । बोलपत्र आव्हान समेत नगरी अस्पताल त शिलन्यास गरियो, तर नशांकन अनुसार जग्गा भने अपुग भयो ।
भरतपुर अस्पतालको जग्गा थोरै भने होइन । अस्पतालको नाममा ३० विगाहा ११ कठठा ६ धुर जमिन रहेको छ । बाड्दा बाड्दै जग्गा अभाव भएको हो । अस्पतालको जग्गा कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले ९ विगाहा, भरतपुर आँखा अस्पतालले ३ विगाहा १७ कठ्ठा १० धुर, साझा औषधि पसलले १ कठ्ठा १० धुर, रक्तसञ्चार केन्द्रले २ कठ्ठा १० धुर प्रयोग गरिरहेका छन् । यस्तै स्वास्थ्य कार्यालय चितवनले १० कठ्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ । अस्पतालले करिब १० बिगाहा मात्रै जमिन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो “अब संरचना बनाउन हामीलाई जग्गा छैन ।” स्वास्थ्य मन्त्री ढकालले शिलन्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ । अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उहाँले जानकारी दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सिटीईभिटीको पुरानो संरचना रहेका क्षेत्रमा जग्गा लिएर सो भवन बनाउन गृहकार्य थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बाड्दाबाड्दै जग्गा अभाव भयो ।” अस्पतालको गुरुयोजना अनुसार संरचना निर्माणका लागि अन्य संघ संस्थालाई दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उहाँको भनाई छ ।
शैक्षिक प्रतिष्ठानको रुपमा अस्पताललाई विकास गरिंदै छ । जसका लागि आवश्यक संरचना निर्माण गर्न अस्पतालसँग जग्गा नभएको अधिकारी बताउनुहुन्छ । मदन भण्डारी ट्रमा सेन्टर, बहिरंग भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जग्गा छैन । गुरुयोजना अनुसार संरचना निर्माणका काम भने अघि बढिरहेको छ ।
चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामीको उपचार गर्ने संघीय अस्पताल भएकाले जग्गाको अभावमा अस्पतालको विकासमा बाधा नपुग्ने गरी काम अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
तत्कालिन राप्ती दुन विकास कार्यक्रम अन्र्तगत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालको लागि झण्डै ३१ विगाहा जग्गा छुट्याउनु भएको थियो । भरतपुर अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ विगाहा जति मात्रै जमिन देखिन आएको अस्पतालको अभिलेखमा उल्लेख छ । झण्डै डेढ विगाहा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ ।
विगतमा जग्गा पाएका संस्थाहरुलाई उचित ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा अस्पतालको प्रयोगमा ल्याउनु पर्ने आवश्यकता रहेको सरोकारवाला बताउँँछन् ।