काठमाडौँ, २२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई कोरोना (कोभिड १९) को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिनु भएको हो ।
बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत उहाँले बताउनु भएको छ । “कोभिड–१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ” सूचना जारी गर्दै उहाँले भन्नुभएको छ “कोभिड–१९ को संक्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन अनुरोध छ ।