चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसी भैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्ब लक्षित एकिकृत सुरक्षा योजना अन्तर्गत तिहारमा खेलीने देउसी भैलो खेल्न रोक लगाएको हो ।

१४ बुँदे सो योजना अन्तर्गत बुँदा नम्बर ३ मा भेलाभई गरिने शुभकामना आदान प्रदान, देउसी भैलो, खेलकुद लगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागु नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याईएको बताउनुभयो ।

आवागमन तथा जमघटले कोरोना संक्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार घरदैलोमै पुगेर खेलिने देउसी भैलोका कारण संक्रमणको जोखिम भएकाले देउसी भैलो खेल्न पूर्ण रोक लगाइएको हो । पटाका, अतिसबाजी लगायतका विष्फोटक पदार्थ ओसार पसार तथा प्रयोग नगर्न समेत अनुरोध गरिएको छ ।

सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै एकिकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याईने उहाँको भनाई छ । निर्देशन अटेर गर्नेलाई स्थलगत कारवाहि गरिने उहाँले बताउनुभयो । जुवातास, चिट्ठा खेल्ने लगायतका गतिविधिमा समेत निगरानी राखिएको उहाँले जानकारी दिनुभयो । कोरोनाको जोखिम वढ्दो रहेकाले सबैले घरघरमा बसेर पर्व मनाउँन उहाँले आग्रह गर्नुभयो । जिल्लामा हाल सम्म ५ हजार १० जनामा कोरोना सङ्क्रमण पुष्टि भई सकेको छ । जस मध्ये ३ हजार ३ सय १४ जना निको भएर घर फर्कि सकेका छन् भने ७६ जनाको मृत्यु भई सकेको छ । हाल १ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस !