काठमाडौंः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १४ वर्षीय किशोरसहित २ जनाको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उदयपुरको कटारीका १४ वर्षीय किशोरको शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।
१२ कात्तिकमा कोरोना पोजिटिभ देखिएका मृतक किशोरलाई प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार मृत्युृ भएको प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै प्रतिष्ठानकै कोभिड अस्पतालमा गएराति ११ बजे सुनसरीकै धरान–१२ की ७८ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार बिहीबार कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएकोमा बिहीबार राति नै मृत्यु भएको हो ।






